धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो : अर्थमन्त्री शर्मा



बजार सुधारका लागि सुझाव समिति गठन

काठमाडौं,जेठ २६ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो रहेको बताएका छन् । बुधवार नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । अर्थतन्त्रको ऐनाका रूपमा रहेको धितोपत्र बजारमा उचित प्रविधि भित्र्याएर ऐनाकै रूपमा हेर्न सक्ने गरी अघि बढ्नुपर्ने शर्माको भनाइ छ । उनले पूँजीबजारप्रति आफू सधैं चिन्तित रहेको पनि बताए । धितोपत्रको स्वचालित कारोबार प्रणाली विश्वसनीय हुने गरी सहज रूपमा कारोबार गर्न पाउने व्यवस्था गर्न अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् । यस वर्षको बजेटमा पनि पूँजीबजारको विकासका मुद्दाहरू सम्बोधन भएकाले तिनको कार्यान्वयनबाट बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास शर्माको छ । आम लगानीकर्ताको उचित माग सम्बोधनका लागि सरकार सधैं सकारात्मक रहेको भन्दै उनले नियामक निकायलाई पनि उक्त कुरामा ध्यान दिन निर्देशन दिए ।

लगानीकर्ताको हित संरक्षणका खातिर नियामक निकायको क्षमता अभिवृद्धि आवश्यक रहेकोसमेत अर्थमन्त्री शर्माले औंल्याए । धितोपत्र बजारसम्बन्धी वित्तीय साक्षरताको खाँचो रहेको उल्लेख गर्दै उनले देशको कुनाकुनासम्म पुग्ने गरी वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । पूँजीबजारमा उचित समन्वयको खाँचो औंल्याउँदै उनले समन्वयात्मक ढंगबाट काम गर्न नियामक निकायलाई निर्देशन दिएका छन् । बजार विकासका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गर्दा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र बीमा समितिबीच समन्वय हुनुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको जानकारी दिए । अर्थ मन्त्रालयका अनुसार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीको संयोजकत्वमा बोर्डका सदस्यसचिवसहित नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि सहभागी हुने गरी समिति गठन गरिएको हो । उक्त समितिले दिएको सुझावका आधारमा अर्थ मन्त्रालयले आगामी दिनमा काम अघि बढाउने अर्थमन्त्री शर्माले जानकारी गराएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा बोर्डका अध्यक्ष रमेशकुमार हमालले गतवर्ष ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय अन्तरराष्ट्रिय स्तरको द्वन्द्व, कच्चा तेलको मूल्यमा भएको वृद्धि, बैंक तथा वित्तीय संस्थाको ब्याजदरका कारण प्रभावित बनेको बताए । आगामी ४ महीनाभित्र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा १० प्रतिशत आरक्षणको व्यवस्था लागू गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । यससँगै धितोपत्र बजारमा एसएमई प्लेटफर्म सञ्चालनको व्यवस्था गर्र्ने र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण मिलाउने कार्य पनि आगामी ४ महिनाभित्र गर्ने हमालले बताए । पूँजीबजारको विकासका लागि नियामक निकायबीच समन्वयको वातावरण निर्माणमा बोर्डले विशेष ध्यान दिने र वित्तीय साक्षरता अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्