रसुवाबाट जनार्दन ढकालसहित ७८ जना कांग्रेसमा प्रवेश



रसुवा,फागुन ८ । नेकपा एमाले रसुवाका निवर्तमान अध्यक्ष जनार्दन ढकालसहित ७८ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सभापति गगन थापा ले ढकालसहित अन्य नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन्।

ढकाल २०७० सालको संविधानसभा निर्वाचनमा रसुवाबाट निर्वाचित सदस्य हुन्। लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका उनले पछिल्लो एक वर्षदेखि पार्टीप्रति असन्तुष्टि जनाउँदै आएका थिए। आफू माथि पार्टीबाट अन्याय भएको महसुस गर्दै उनले गत वर्ष फागुनमै एमाले परित्याग गरेको घोषणा गरेका थिए। अन्ततः उनले कांग्रेस रोजेका हुन्।

राजनीतिक यात्रामा शालीन, संयमी र समन्वयकारी नेताका रूपमा परिचित ढकाल निर्माण व्यवसायसँग समेत आबद्ध रहँदै आएका छन्। उनको प्रवेशसँगै रसुवाको राजनीतिक समीकरणमा नयाँ तरंग आएको स्थानीय नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्