घोषणापत्रमा अर्थतन्त्र विस्तारको प्रतिस्पर्धा
काठमाडौँ, फागुन ८ : प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी—ले सार्वजनिक गरेका घोषणापत्र अर्थतन्त्र विस्तारमा केन्द्रित देखिएका छन्। दलहरूले हाल करिब ४६ अर्ब डलरको अर्थतन्त्रलाई आगामी पाँच वर्षमा ८० अर्बदेखि १०० अर्ब डलरसम्म पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएका छन्।
कांग्रेसले पाँच वर्षलाई आर्थिक पुनरुत्थानको अवधि घोषणा गर्दै अर्थतन्त्र ११५ खर्ब रुपियाँ र प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने लक्ष्यसहित निजी क्षेत्रमै आधारित उदार अर्थनीति अघि सारेको छ। एमालेले वार्षिक ७–९ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी पाँच वर्षमा अर्थतन्त्र १०० खर्ब रुपियाँ पुर्याउने तथा प्रतिव्यक्ति आय करिब ३ हजार डलर बनाउने लक्ष्य राखेको छ। रास्वपाले औसत ७ प्रतिशत वृद्धिदर कायम गरी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने र अर्थतन्त्र १०० अर्ब डलरनजिक पु¥याउने जनाएको छ।
रोजगारीतर्फ कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने, एमालेले सूचना प्रविधिमार्फत वार्षिक पाँच लाखलाई रोजगारी दिने तथा रास्वपाले डिजिटल पार्कमार्फत पाँच लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्ने योजना अघि सारेका छन्।
ऊर्जा, वित्तीय प्रणाली र सूचना प्रविधिलाई पनि तीनै दलले प्राथमिकतामा राखेका छन्। विद्युत् उत्पादन वृद्धि, डिजिटल सेवा विस्तार, वित्तीय सुधार र वैदेशिक लगानी आकर्षणमार्फत समृद्धि हासिल गर्ने समान प्रतिबद्धता घोषणापत्रमा देखिन्छ। अर्थविद्हरूले भने ठूला लक्ष्यभन्दा कार्यान्वयन रणनीति स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्।

