“विकास र समृद्धिको सारथी बन्नेछु” – हितबहादुर तामाङ



नुवाकोट, फागुन  ८ । आगामी निर्वाचन नजिकिँदै जाँदा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाली कम्युनिष्ट पार्टी का प्रभावशाली नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङ ले सूर्यगढी गाउँपालिका का विभिन्न बस्तीहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

शुक्रबार बिहान सूर्यगढीको धोबीखोलाबाट सुरु भएको घरदैलो अभियान सलिनडाँडा, सेमराङ, काउले, बुलबुले र सोलामाने हुँदै लच्याङछापसम्म पुगेको थियो। अभियानका क्रममा तामाङले सूर्यगढी–२ को बेहोरे भञ्ज्याङ, सूर्यगढी–१ को डिठास्वाँरा, सानुभोर्ले तथा कुवापानीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो।

प्रत्येक बस्तीमा पुग्दा उहाँलाई स्थानीयवासीले पञ्चेबाजा, फूलमाला र अबिरसहित भव्य स्वागत गरेका थिए। युवा तथा वृद्धवृद्धाहरूमा उम्मेदवारसँग प्रत्यक्ष भेटघाट गरी आफ्ना गुनासा राख्ने उत्साह देखिएको थियो।

घरदैलोका क्रममा तामाङले नुवाकोटका अधुरा विकास योजनाहरू पूरा गर्ने, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूको अपार माया र भरोसा नै मेरो राजनीतिक जीवनको मुख्य पुँजी हो। यो विश्वासलाई म कहिल्यै टुट्न दिने छैन।”

स्थानीय बासिन्दाहरूले सडक स्तरोन्नति, सिँचाइ सुविधा र युवा स्वरोजगारका विषयलाई मुख्य मुद्दाका रूपमा उठाएका थिए। तामाङले ती समस्याहरूलाई आफ्नो प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको छ। अभियानमा सहभागी युवाहरूले उहाँलाई “विकासप्रेमी र सुख-दुःखको साथी” भन्दै गाउँ–गाउँमा प्रचार अभियान सञ्चालन गर्ने बताएका छन्।

सूर्यगढीका दुर्गम तथा कुना–काप्चासम्म पुगेर गरिएको यो घरदैलो अभियानले चुनावी माहोल थप तातेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार मतदाता सहभागिताको बाक्लोपनले नुवाकोट–१ मा तामाङको प्रभाव बलियो देखिएको छ। तामाङले सामाजिक सञ्जालमार्फत प्राप्त समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्