झण्डा जलाउनेहरूलाई जनताले अस्वीकार गर्नेछन् : शंकर पोखरेल



दाङ,फागुन ८: नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीको झण्डा जलाइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै झण्डा जलाउनेलाई निर्वाचनमार्फत जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिलाई अराजक र आपराधिक प्रवृत्तिको संज्ञा दिनुभएको हो। उहाँले लेख्नुभएको छ, “अराजकता र उदण्डता कुनै नयाँपन होइन, त्यो अपराध हो। झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्। यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।”

पार्टीको झण्डा तथा चुनाव चिन्ह जलाइएको घटनापछि पोखरेलले यसलाई लोकतान्त्रिक अभ्यासविरुद्धको गतिविधि भएको उल्लेख गर्नुभएको छ। उहाँले कार्यकर्ता तथा आम जनतालाई संयमित रहन र लोकतान्त्रिक प्रक्रियामार्फत यस्ता कार्यको जवाफ दिन आग्रह गर्नुभएको छ।

दाङ क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला भएको उक्त घटनाले राजनीतिक वातावरण विथोल्ने प्रयास भएको स्थानीयहरूको भनाइ छ। एमाले दाङ ले घटनाको विरोध भइरहेको र अन्य दल तथा सरोकारवाला पक्षबाट पनि प्रतिक्रिया आउनेक्रम जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्