भोलि खण्डग्रास सुर्यग्रहण,ग्रहणमा के-के गर्नुहुदैन?



काठमाडौं । भोली अर्थात पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ । पौष कृष्ण औसी तदनुसार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने भएको हो ।
नेपाली समय अनुसार बिहान ८ः४२ मा स्पर्श हुने सूर्यग्रहण १०ः०१ मा मध्य र ११ः३१ मा मोक्ष हुनेछ । यस आधारमा हेर्दा सूर्यग्रहण लगभग २ घण्टा ४९ मिनेटको रहनेछ ।नेपाल पन्चाङ्ग समितिका अनुसार यो सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।
यो खण्डग्रास सूर्यग्रहण नेपाल लगायत भारत, श्रीलंका तथा एसियाका सबै तथा हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रिकालगायत विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।
ग्रहण लाग्दा केके गर्नुहुदैन?
ग्रहण लाग्नु अघिदेखि ग्रहण बार्नुपर्ने शास्त्रीय मान्यता छ । जसअनुसार आज राति ८ः४२ देखि सुतक लाग्ने ज्योतिषीय बिश्वास रहिआएको छ । सो समयमा बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाबाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको ज्योतिषीहरुले बताएका छन् ।

सो समयमा मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य गर्न नहुने मान्यता छ ।
त्यस्तै ग्रहणको समयमा गर्भवती महिलाहरूलाई घरबाहिर ननिस्कन पनि उनीहरुले सुझाव दिएका छन ।

यसपटकको खण्डग्रास सूर्यग्रहण मूल नक्षत्रमा परेकाले आगामी ६ महिनासम्म मूल नक्षत्रमा कुनै पनि शुभकार्य गर्न नहुने ज्योतिषहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्