पुस्तक छपाईमा ढिलाइ,नयाँ शैक्षिक सत्रमा पुस्तक अभाव 



काठमाण्डौ,फागुन-१७।नयाँ शैक्षिक सत्रको सुरुवातमा पाठ्यपुस्तकको चरम अभाव हुने देखिएको छ।जनक शिक्षा साम्राग्री केन्द्रले आवश्यक पुस्तक छपाईमा ढिलाइ गरेसगै यस्तो समस्याको सामना गर्नुपर्ने निश्चित प्रायः भएको छ।जनक शिक्षा साम्राग्री केन्द्रले २ करोड ११ लाख पुस्तक छाप्ने लक्ष्य राखेको भएतापनि हालसम्म १ करोड ४० लाख पुस्तक मात्रै छपाई भएसगै पुस्तक अभाव हुने संकेत देखिएको हो।चैत १५ भित्र विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्ने सरकारी नीति भएतापनी यसको कार्यन्वयन पक्ष भने गत वर्ष झै फितलो पाइएको छ ।

यता जनक शिक्षाले भने चैत २० गतेसम्म बाँकी  ६० करोड पुस्तक छापिसक्ने लक्ष्य राखेको छ।यो आफैमा ढिला लक्ष्य हो।यसप्रकारको धिमा गतिले काठमाडौ उपत्यकाकै विद्यालयका विद्यार्थीलेसमेत समयमा पुस्तक नपाउने हो कि भन्ने आशंका उब्जिएको छ ।

अहिले जनक शिक्षा सामग्री लिमिटेडले कक्षा २, ३, ४, ५, ९ र १० को पुस्तक छपाईसकेको छ । कक्षा ६, ७ र ८ को पुस्तक रंगिनमा हुने भएकाले छपाईमा ढिलाई भएको केन्द्रका निर्देशक चित्रबहादुर आचार्य बताउँछन् ।

पुस्तक छपाइमा करिब ३ सयजना कामदारहरु खटिरहेका साथै ६ वटा मेसिनमा काम भइरहेको छ । सरकारले सार्वजानिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ ।शिक्षा विभागको अन्तरनिकाय वित्तीय हस्तान्तरणअन्तर्गत संघीय मामिला मन्त्रालयमार्फत २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ पठाएको हो। वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न सो रकम स्थानीय तहमार्फत विद्यालयमा पठाएको हो ।

सरकारले यो वर्ष कक्षा १ देखि १० सम्म ३ करोड ६० लाख थानभन्दा बढी पाठ्यपुस्तक छपाइ गर्ने योजना तय गरेको थियो । कक्षा १ देखि ५ सम्म ५ थान, कक्षा ६ देखि ८ सम्म ९ थान तथा कक्षा ९ र १० का लागि ८ थान आवश्यक पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्