कोरोना भाइरसका बिरामीलाई छुट्टै उपचार:मन्त्री ढकाल



चितवन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका बिरामीलाई छुट्टै उपचारको ब्यवस्था गरेको बताएका छन।उनले त्यस्ता आशङ्कामा रहेका  बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गरी उपचार गर्ने सोच सरकारले बनाएको बताउनुभयो। रासससँग कुराकानीको सिलसिलामा  आज उनले कोरोना भाइरसले दुईदेखि १४ दिनसम्म एकदेखि अर्कोलाई सर्छ त्यसैले बिरामीलाई व्यारेकको जस्तो  उपचार केन्द्रमा राखी उपचार  गर्ने सोच बनाइएको बताए ।

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले छुट्टै ब्यारेक झै उपचार केन्द्रको तयारी गरेको बताए ।सरकारले भैपरी आउने यस्ता बिपत्तिका लागि  अहिले १०० भन्दा बढी शैयाको विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको समेत उनले जानकारी दिए । पच्चीस शैयाको दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो । रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै उनले अन्तरराष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ थियो । हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्