गाँजा विधेयक संसद प्रवेश गर्‍यो



काठमाडौं,फागुन-२० ।गाँजा विधेयक संसद प्रवेश गरेको छ। गाँजाखेतीलाई नियमनगत  तथा व्यवस्थित गर्न  संघीय संसद्को प्रतिनिधिसभामा विधेयक दर्ता भएको हो ।

नेकपाका नेता तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले सोमबार गैरसरकारी विधेयकका रूपमा उक्त विधेयक दर्ता गराएका हुन् ।

‘औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा खाद्य, व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि समेत गुणस्तरीय गाँजा उपलब्ध गराउँदै कृषकको आर्थिकस्तर बढाउनका लागि नेपालमा गाँजाखेतीलाई खुला गर्न’ विधेयकमा प्रस्ताव गरिएको छ ।

विधेयकको दफा ३ को उपदफा १ मा अनुमतिपत्र नलिई गाँजाखेती गर्न, ओसार–पसार गर्न, गाँजाको बिक्री–वितरण गर्न वा निकासी गर्न कसैले नपाउने व्यवस्था छ ।

अनुमतिपत्र दफा ६ बमोजिम सम्बन्धित कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले कृषकले दिएको निवेदनउपर आवश्यक जाँचबुझ गरी दिइनेछ ।

तर, केही प्रयोजनका लागि भने अनुमति लिन नपर्ने दफा २ को (क) र (ख) मा व्यवस्था गरिएको छ । सोही दफाको खण्ड (क) मा ‘एक घर–परिवारमा घरायशी प्रयोजनका लागि बढीमा ६ वटासम्म गाँजाको बोट उमार्न’ अनुमति लिनु नपर्ने उल्लेख छ ।

यससग सम्बन्धित समाचार  आजको नेपाल समाचारपात्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्