प्राधिकरणका ३८ लाख ग्राहकलाई विद्युतमा २० प्रतिशत छुट



काठमाडौं,चैत-१४।नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले विद्युतमा २० प्रतिशत छुट पाउने भएका छन्।प्राधिकरण अन्तर्गतका घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोग गरेमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन ।

शुक्रबार मन्त्रालयमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनका क्रममा कतिपयको मजदुरी गुमेको तथा आर्थिक गतिविधि बन्द भएको कारण यस्ता पीडित ग्राहकलाई राहत दिन तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनको भनाइ छ ।’लकडाउन अवधिमा ग्यासको अभाव देखिएको छ’मन्त्री पुनले भने-विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा जनतालाई राहत दिन विद्युत महसुलमा छुटको ब्यवस्था गर्न लागेका हौ।’उनले ग्यास बिदेशबाट आयात गर्नुपर्ने तर विद्युत नेपालकै उत्पादन भएकाले इलेक्ट्रिक कुकिङ प्रवद्र्धन गर्दा अर्थतन्त्रमै सकारात्मक असर पर्ने विश्वास व्यक्त गरे।
प्राधिकरण अन्तर्गतका सबै उपभोक्तालाई ग्यासको विकल्प इलेक्टिङक कुकिङमा लैजान नसकेपनी तत्काल काठमाण्डौंसहित सहरी क्षेत्रबाट यसको सुरुवात गर्न सकिने सरोकारवालाहरु बताउँछन्।

यता ३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्