कार्डसन नुवाकोटद्वारा नवनिर्मित नमूना बस्तीमा क्वारेन्टाइन कक्ष



सबी महर्जन,चैत-१५,नुवाकोट। कोरोना भाईरस (कोभिड–१९) को जोखिम बढ्दै गइरहेको बेला नुवाकोट जिल्लामा एक गैरसरकारी संस्थाद्वारा नवनिर्मित नमुना बस्तीलाई क्वारेन्टाइनको रूपमा दिन संस्था तयार भएको छ।कोरोनाको सङ्क्रमणबाट जोगिन जिल्लाका स्थानीय तह पूर्व तयारीमा लागिरहेकै बेला नुवाकोट जिल्लास्थित कार्डसन नेपालले यस्तो तयारी गरेको हो।जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर-७ मा रहेको रामतिमा निर्मित नमुना बस्तीलाई क्वारेन्टाइन कक्षको रुपमा दिन तयार भएको संस्थाका अध्यक्ष तथा समाजसेवी पदम उप्रेतीले बताउनुभयो।

कार्डसन नुवाकोटद्वारा नवनिर्मित नमुना बस्ती

संस्थाद्वारा निर्मित नमुना बस्तीमा ७५ घर छन। ७५ घर मध्ये ३० वटा घर तत्काल कोरोना भाइरसका शंकास्पद बिरामीलाई  क्वारेन्टाइनको लागि छुट्याइएको छ।संस्थाका अनुसार अहिले खानेपानी,शौचालय तथा बिरामीका लागि आवश्यक लत्ताकपडाको समेत प्रबन्ध भैसकेको छ।’हामीले अत्यावश्यक औषधिसहित चिकित्सक टोलीको पनि ब्यवस्थापन गरेका छौं’ नेकपा नुवाकोटका नेता समेत रहेका समाजसेवी उप्रेतीले भने-‘बिदेशमा फैलिएको महामारी देखेर नै हामीले पुर्व सजगताको पाठ  सिक्नु जरुरी छ।’

साथै जिल्लामा त्यस्ता बिरामीको लागि आवश्यक सुरक्षित आवासको अभाव भएमा ७५ वटै घरलाई क्वारेन्टाइन आवासको रुपमा खडा गर्न सकिने समाजसेवी उप्रेतीले साझापथसगको कुराकानीमा बताए।

कार्डसन नुवाकोटका अध्यक्ष तथा समाजसेवी पदम उप्रेती नमुना बस्ती अनुगमनका क्रममा

जिल्लास्थित वैदेशिक रोजगारीबाट नुवाकोट भित्रिएकालाई यस्ता क्वारेन्टाइन कक्षमा राखी उपचार गर्न सहज हुने स्थानीय जनप्रतिनिधिले सुझाव दिएका छन्।
  

यता जिल्ला सुरक्षा समितिका अनुसार  संक्रमण भएका बिरामीको उपचार र जोखिम कम गर्न नुवाकोटमा १४ वटा आइसोलेशन वार्ड र २०५ वटा शय्या तयारी अवस्थामा रहेको बताएको छ।

जिल्लाभरका बिरामी आउने सम्भावित अवस्थालाई मध्यनजर गरी जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन समेत तयार भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्