मजदुर सडकमा छन,चुनावका बेला बसका बस भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन?



काठमाडौ,बैशाख-६।,चुनाव आउन पाएको हुँदैन, राजनीतिक दलका नेताले बसका बस बुक गरेर हजारौं कार्यकर्ता गाउँमा उतार्छन् । त्यस्तै जनताको मतको आधारमा शक्तिमा पुग्न प्रतिस्पर्धा गर्ने दलका नेताहरू सहरमा मजदुर अलपत्र पर्दा तमासे छन् । सरकारले लकडाउन घोषणा गरेर घरभित्रै बस्न आदेश दिएको छ, तर हजारौं मजदुरले तलब पाएका छैनन, छाक टार्न सकेका छैनन् । सहरमा अलपत्र परेपछि ताँति लागेर गाउँ फर्कदैछन् । भोकले छटपटाउदै राजमार्गमा निस्किएका यात्रुलाई खाना खुवाउन ठाउँठाउँमा स्थानीय आफै जुटेका छन् । स्वतस्र्फुत सेवामा जुटेका यी मनकारी भन्छन– दाल चामलको मूल्य होला, तर मानवसेवा अमूल्य छ ।

अहिले ठाउँठाउँमा व्यक्ति, समूह र संस्थाहरूले खाना, खाजा, पानीदेखि चप्पलसम्म बाँडिरहेका छन् । कतिपयले गाडीको व्यवस्था गरेर थकितहरूको यात्रा केही छोट्याइदिएका छन् । केही मनकारीले आफ्नै क्षेत्रमा समस्यामा परेका विपन्नलाई राहत बाँडिरहेका छन् ।

चितवन : चितवन सदरमुकाम भरतपुरको पुल्चोकमा स्थानीय उद्यमी युवाले बटुवालाई सोधीखोजी गर्दै खाना खुवाइरहेका छन् । भोकै–तिर्खै घरतिर लम्किँदै गरेकाहरूलाई २३ चैतदेखि खाना खुवाउँदै आएका छन् । उनीहरूले स्थानीय प्रहरीको सहकार्यमै खाना वितरण गरिरहेका छन् ।

युवा दाताराम घिमिरेका अनुसार साकाहारी बिर्यानी, रोटी र तरकारी खुवाइएको छ । एक व्यक्तिले एक बोतल पानी पनि पाउँछन् । ‘लकडाउन कायम रहेसम्म सेवालाई निरन्तरता दिनेछौँ,’ घिमिरेले भने । झापा, दोलखा, धादिङ, काठमाडौं, दैलेख, बर्दियालगायत जिल्लामा हिँडेकाहरू पुल्चोकमा भेटिने गरेको उनले बताए ।

युवाहरूले पुल्चोकमै अटोमेटिक स्यानिटाइजिङ मेसिन पनि राखेका छन् । बटुवा तथा अत्यावश्यक काममा सवारीसाधन लिएर हिँडेका यात्रुहरूलाई पूरै शरीर शुद्धीकरण गरी पठाउने उद्देश्यले मेसिन राखिएको घिमिरेले बताए । मेसिनमा एकपटकमा चारजना छिर्न सक्ने र १० सेकेन्डमा सबै शुद्धीकरण हुने उनले बताए ।

नवलपरासी : ‘सफा सुन्दर हरियाली गैँडाकोट’ अभियानले बुटवाहरूका लागि राजमार्गस्थित भृकुटी चोकमा खाना वितरण गरिरहेको छ । हालसम्म पाँच सय बटुवालाई खाना खुवाएको संयोजक गणेश सापकोटाले बताए । फ्राइड राइस, तरकारी र पानी वितरण गरिरहेको छ ।

गैँडाकोट नगरपालिका– २ नारायणीनदीको पुलनजिकै लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रकोे संयुक्त पहलमा समस्यामा परेकाहरूलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त सडकमा उनीहरूले दैनिक बिहान ८ देखि राति १० बजेसम्म बटुवालाई चाउचाउ, बिस्कुट र पानी वितरण गर्दै आएका छन् ।

सिराहा : काठमाडौंबाट पूर्वको यात्रामा लम्किएकाहरूलाई सिराहाको मिर्चैया र बन्दीपुरमा स्थानीयले खाजाका पोका बाँडेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका– २ बन्दीपुरमा स्थानीय युवा र मिर्चैया नगरपालिकामा स्थानीय व्यवसायीले चाउचाउ, बिस्कुट र पानी सहयोग गरेका हुन् । 

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्