करिब छ सय विद्यालयमा क्वारेन्टाइन
काठमाडौँ, वैशाख-९ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण लाई न्यूनीकरण गर्न तथा यसको प्रकोप बढेर समुदायमा पुग्ने स्थिति भएपछि देशभरका ५ सय ९१ वटा विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ ।यसप्रकारको विद्यालय क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का गरिएका दुई हजार ६ सय ७६ जनालाई राखिएको छ ।
विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधारसमेत हुने भएकाले विद्यालयमा क्वारेन्टाइन बन्ने क्रम बढेको जानकारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ । केन्द्रका अनुसार प्रदेश १ मा दुईवटा विद्यालयमा पाँच, प्रदेश २ को एक सयवटा विद्यालयमा ३ सय ७९, बाग्मती प्रदेश १८ वटा विद्यालयमा १९ तथा गण्डकीमा १० वटा विद्यालयमा ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैगरी प्रदेश ५ मा ६८ वटा विद्यालयमा २१, कर्णाली प्रदेशका २ सय १ वटा विद्यालयमा ५ सय ६३ तथा सुदूरपश्चिम प्रदेशमा १ सय ९२ वटा विद्यालयमा एक हजार ६ सय ४८ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा धेरै मानिस विद्यालयको क्वारेन्टाइनमा रहेको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिएका छन् ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।