निजी विद्यालय बैशाख १५ देखि खुल्ने



काठमाडौं, बैशाख-९ । निजी विद्यालय बैशाख १५ गतेदेखि खुल्ने भएको छ।निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका हुन । कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पुर्ण काम ठप्प छ । सरकारले भने यही १५ गतेसम्म लकडाउन कायम राखेको छ ।

धेरैजसो  विद्यालयले कक्षा १ देखि ९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही  विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति समेत तय गरेका थिए । चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताएको छ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्