एउटै गाउँमा २४ जना कोरोना संक्रमित



विराटनर/उदयपुर, बैशाख-१० । प्रदेश १ मा क्षेत्रमा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यस संख्यासगै यहाँ २४ जना संक्रमितको पुगेको छ। उनीहरू भुल्केस्थित त्रियुगा नगरपालिका–३ नुरी मस्जिदमा रहेका भारतीय र आसपासका बासिन्दा हुन्।

यसअघि वैशाख ५ गते ११ भारतीय र उनीसँगै रहेका दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार थपिनेमा क्रमशः वर्ष १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ का पुरुष, वर्ष ३६ की महिला र अर्की उमेर नखुलेकी महिला छन्। उनीहरू भने मस्जिद आसपासका बासिन्दा हुन्।

मस्जिदमा बसेका भारतीय र नेपाली गरी १३ जनामा कोरोना पुष्टि भएपछि त्यस क्षेत्रका बासिन्दा र उनीहरूसँग सम्पर्कमा रहेकाहरूको स्वाब नमुना संकलन गरिएको थियो। त्यसपछि विराटनगरस्थित कोसी अस्पताल र काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएको थियो।

विराटनगरमा सोमबार र मंगलबार आठ जनामा कोरोना पोजिटिभ भेटिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप परीक्षण गरिएको थियो। विराटनगरमा संक्रमण पुष्टि भएकालाई उपस्थित गराएरै धरानमा परीक्षण गर्दा पोजिटिभ देखिएको हो। उनीहरूलाई मंगलबार एम्बुलेन्समा राखेर धरान पुर्‍याइएको थियो।

सेनाले संकलन गरेको बाँकी तीन जनाको स्वाब भने टेकुमा परीक्षण गर्दा कोराना पुष्टि भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला र सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकका छुट्टाछुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरी लगेका थिए। काठमाडौं लगेको स्वाब परीक्षणमा अझै संक्रमित थपिने सम्भावना रहेको चिकित्सक बताउँछन्। ६९ जनाको स्वाब परीक्षण भने विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ। नौवटा वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीको रहेको बताइएको छ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा समाचार प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्