पुनःनिर्माण प्राधिकरणको समय थप्न सुझाव



काठमाडौं, वैशाख-१३ । पाँच वर्षअघि गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछिको योे अवधिमा हासिल गरेका उपलब्धिको समीक्षा गरिएको छ । दातृ समुदायले पुनःनिर्माणलाई सन्तोषजन रहेको प्रतिक्रिया दिएका छन् ।

भूकम्प गएको दिन वैशाख १२ गते (२०७२)को सम्झनामा शुक्रबार सरकारवाला निकाय, द्विपक्षीय र बहुपक्षीय दातृ निकायका प्रतिनिधिसँग भिडियोमार्फत पुनःनिर्माणबारे अन्तरक्रिया सम्पन्न भएको छ । पुनःनिर्माणको काम अन्तिम चरणमा भइरहँदा कोरोना भाइरस (कोभिड–१९) को बन्दाबन्दीले ठप्प पारेको भन्दै प्राधिकरणको समयावधि केही समय थप्न सुझाव दिएको छ । प्राधिकरण साढे चार वर्षअघि गठन भएको थियो । यसको समयावधि पाँच वर्ष तोकिएको प्राधिकरणको समायावधि आगामी पुसमा सकिँदै छ ।

अन्तरक्रियमा संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क, युरोपियन युनियन, अमेरिकी सहयोग नियोग लगायतका विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालले भूकम्पपछि हालिस गरेका उपलब्धि सराहनीय भएको बताएका छन् । उनीहरूले केही समय थपेर भए पनि बाँकी काम सम्पन्न गर्न सुझाव दिएका छन् । प्राधिकरणका अनुसार अझै दुई लाख निजी आवास बन्न बाँकी छन् । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोभिड–१९ का कारण यता एक महिनादेखि पुनःनिर्माणका काम प्रभावित भएकाले नयाँ तालिका अनुसार काम गरिने जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म छ लाख ८४ हजार १८९ घर निर्माण भइरहेका र अझै करिब दुई लाख घर बन्न बाँकी छन् । उनले बाँकी कामका लागि वित्तीय व्यवस्थापनमा पनि चाप पर्दै गएको बताएका छन् । तर पनि पुनःनिर्माणमा सहयोग गर्दै आएका द्विपक्षीय वा बहुपक्षीय निकायले आफूले प्रतिबद्धता जनाएको रकम उपलब्ध गराउने आश्वासन भने दिएको प्रमुख ज्ञवालीले स्पष्ट पारेका छन् । अन्तरक्रियामा प्राधिकरणका निर्देशक समिति सदस्या डा. तारानिधि भट्टराईले प्राधिकरणले प्रबलीकरणका कामलाई सच्याएर जान पर्ने सुझाएका छन् । त्यस्तै भूकम्पका कारण पहिरो गएको स्थानको नक्सा तयार गरेर सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्नुपर्ने पनि बताएका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्