संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री ओली



काठमाडौ,बैशाख-१७ । राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहेका छन् ।

पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन् । प्रधानमन्त्री पदको निर्णय पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय दलमै बहुमत पुर्‍याएर प्रचण्ड–नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ ।

‘संसदीय दलमा बहुमत पुग्छ भन्नेमा उहाँहरू ढुक्क देखिनुहुन्छ, जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न तयार हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ,’ मंगलबार बालुवाटार भेलामा सहभागी एक सांसदले भने ।

नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ ।

त्यति मात्र होइन, नेपाल समूहको मुख्य स्तम्भ मानिएका घनश्याम भुसाल र योगेश भट्टराई अहिले निष्क्रिय छन् । उनीहरू पनि तटस्थ रहने ओली समूहको विश्वास छ । नेपाल समूह मात्र होइन, पूर्वमाओवादी समूहलाई आकर्षित गर्ने ओलीको प्रयास निरर्थक भएको छैन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई समर्थन गर्ने संकेत गरेका छन् ।

उद्योगमन्त्री भट्टले भने अहिले सरकारको नेतृत्व खोज्दा जनमतको अपमान हुने टिप्पणी गर्दै आएका छन् । उनी ओली समूहले सोमबार बालुवाटारमा बोलाएको भेलामा पनि सहभागी थिए ।

स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलाई मनाउन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई जिम्मा दिएका छन् । रायमाझीले भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थागत विधि र प्रक्रियाभन्दा बाहिर गएर समस्या समाधान खोजिए आफ्नो साथ नरहने बताए ।

‘पार्टी र सरकारमा देखिएका समस्या र अन्तरविरोध पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर विधिसम्मत, संस्थागत र सामूहिक रूपमा हल गर्नुपर्छ, त्यसभन्दा बाहिर गएर जुनसुकै तरिकाबाट गरिने हर्कत लाभदायी हुँदैन,’ रायमाझीले नयाँ पत्रिकासँग भने ।

गृहमन्त्रीका प्रमुख स्वकीय सचिव तथा नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘माहामारीविरुद्ध विश्वव्यापी जुधिरहेको मानव समुदाय अहिले अस्वस्थ, अमर्यादित बचकाना बेमौसमी हर्कतका विरुद्ध छन् । पहिला महामारीसँग लडेर बचाऊ, तत्पश्चात् अरू गरौँला भनिरहेको अवस्थामा त्यसको ठीक उल्टो धारमा हिँड्ने पार्टी, सरकार र व्यक्तिलाई समयक्रममा निक्कै ठूलो सजाय दिने निश्चित छ ।’

प्रचण्डले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सक्ने सम्भावनाका कारण नेपालकै गृहजिल्ला रौतहटका सांसद प्रभु साहलगायतलाई आफूतिर आकर्षित गर्न ओलीले कोसिस गरिरहेका छन् । अनुशासनको कारवाहीस्वरूप केन्द्रीय सचिवालयबाट स्पष्टीकरण सोध्न लगाएको भन्दै साह नेपालसँग रुष्ट छन् । नेपाललाई प्रधानमन्त्रीमा अघि सारिए आफू विपक्षमा उभिने संकेत उनले पार्टीका नेताहरूलाई दिइसकेका छन् ।

प्रचण्ड–नेपाल समूहका नेताले पनि सांसदहरूलाई ‘तयारी’ अवस्थामा रहन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सहज ढंगले बाटो खुला नगरे र दलको चुनावको सामना गर्ने सोच बनाए एक सय सांसद आफ्नो पक्षमा उभाउने प्रचण्ड–नेपाल समूहका दोस्रो तहका नेताहरूको तयारी छ । प्रधानमन्त्री ओलीले सोमबारबाट बालुवाटारमा सांसदहरूको भेला सुरु गरेपछि प्रचण्ड र नेपालकै जानकारीमा निकट नेताहरू भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेलगायत नेताले पनि सांसदहरूलाई संगठित गर्ने जवाफी तयारी थालेका हुन् । संसद् सुचारु नरहेकाले नेकपाका केही सांसद जिल्ला पुगेका छन् । तीमध्येका एक सांसदले भने, ‘लगातार केन्द्रबाट सम्पर्क भएको छ । तयारी अवस्थामा रहनू भनिएको छ ।’

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्