निको भए उदयपुरका ६ जना कोरोना संक्रमित ,आज डिस्चार्ज हुने



विराटनगर,बैशाख-२४। उदयपुरका ६ जना कोरोना संक्रमित निको भएका छन।  विराटनगर-१० स्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत उदयपुरका २८ जनासहित ३१ जना कोरोना संक्रमितमध्ये ६ जना निको भएका हुन ।

उनीहरूलाई बुधबार अस्पतालले डिस्चार्ज गर्न लागेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेले भने, ‘निको भएका ६ जनालाई बुधबार बिहान ८ बजे डिस्चार्ज गर्न लागिएको छ ।’ निको भएकाहरू सबै उदयपुरको भुल्केस्थित मस्जिदबाट ल्याइएका १३ जनामध्येका हुन् ।

पछिल्लो तीनपटकसम्म उनीहरूको स्वाबको रिपोर्ट नेगेटिभ आएको कोसी अस्पताल प्रमुख डा.संगीता मिश्राले बताइन् । निको भएर डिस्चार्ज हुन लागेकाहरू सबै ३० देखि ३४ वर्ष उमेर समूहका छन् ।

डिस्चार्ज हुने सबैलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिनेछ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. मिश्राले जानकारी दिइन् ।

यो समचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्