आज २५६४ औं बुद्ध जयन्ती मनाइदै



काठमाडौ,बैशाख-२५ । हरेक  वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइदै आएको बुद्धजयन्ती पर्व आज मनाइदैछ। भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदान स्मरणीय मानिदै आएको छ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै एउटै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति बिशेष भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी विद्यमान रहेपनि बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

यसै बीच  प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्तीको अवसरमा आज साँझ घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्