नेपालमा कोरोना संक्रमणको स्थिति भयावह हुने संकेत देखियो:प्रधानमन्त्री ओली



काठमाण्डौ,बैशाख-२५ । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने संकेत देखिएको बताउनुभएको छ। बिहीबार बुद्ध जयन्तीका उपलक्ष्यमा  भिडियो सन्देश मार्फत  प्रधानमन्त्री ओलीले महामारीले भयावह रुप लिन सक्ने भन्दै  सबैले यस कठिन घडीमा  सजगता अपनाउन आह्वान गरेका छन ।

सरकारले चालेका कदमहरुलाई प्रभावकारीताको संज्ञा दिँदै उनले सरकारका कदमकै कारण स्थिति भयावह हुनबाट जोगिएको समेत  दाबी पनि गरेका छन् । ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबै एकजुट बनी लागेनौ भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’ भिडियो सन्देशमा उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै नेपालमा बुधबारसम्म ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेकाले थप सजगताको अपरिहार्यता कसैले भुल्न नहुने बताए।

शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयंसेवी, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्