प्युठानमा कोरोना जाच्ने किट अभाव,रोकियो आरडीटी



प्यूठान,बैशाख-२६ । प्यूठानमा कोरोना परीक्षण गर्न प्रयोग हुने किटको अभाव भएको छ । कोरोना भाइरस कोभिड–१९ को द्रुत परीक्षणका लागि आवस्यक (आरडीटी) किट अभाव भएको प्यूठानका स्थानीयले जानकारी दिएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागी नेपाल सरकारले ४४ दिनदेखि देश लकडाउन गरेको छ । देश बन्दाबन्दी भएपछि जिल्ला भित्रिएका नागरिकलाइ स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन रहेका व्यक्तिलाई आरडीटी परीक्षण नगरी घर पठाउनुपर्ने अवस्था आएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ऋषिराम शर्माले बताए । ‘हिजोसम्म ४ वटा किट थियो र ४ जनामा आडिटी परीक्षण गरेर घर पठायौं,’ उनले भने, ‘हामीसगँ किट नै छैन अब के गर्ने भन्ने भएको छ ।’ किटको अभाव हुँदा कोरोना संक्रमणको आशंका लागेकाको रगत परीक्षण गर्न समस्या भएको उनी बताउँछन् ।

अहिले जिल्लाका सबै स्थानीय तहमा किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको रगत परीक्षण गर्न नसकेको प्यूठानका स्थानीय तहले बताएका छन् । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकालाई थर्मल गनले सामान्य ज्वरो मात्रै नापेर घर पठाउनुपर्ने अवस्था सिर्जना भएको स्थानीय तहका स्वास्थ्य शाखा संयोजकले बताएका छन् । उनीहरुका अनुसार किटका लागी स्वास्थ्य कार्यालयसँग समन्वय परेका छन् ।

विभिन्न स्थानबाट लकडाउनको समयमा गाउँ फर्किएकाहरूलाई प्यूठानका स्थानीय तहले क्वारेन्टाइनमा राखिएको छ । १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने र कोरोना परीक्षण गरेर मात्रै घर फर्किने व्यवस्था छ ।

तर पछिल्लो समय कोरोना परिक्षण गर्ने किट अभाव हुँदा प्यूठानका विभिन्न क्वारेन्टाइनमा बसेकाहरु परीक्षणविनै घर फर्किन थालेका छन्, जसका कारण जोखिम अझै बढेको छ । जिल्लामा मंगलवार मात्र ११६ जना घर गएका छन् । उनीहरूलाई सामान्य ज्वरो नापेर घर पठाइएको छ ।

किट अभाव हुदा १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरिकलाई एक हप्ता हामे क्वारेन्टाइनमा बस्न प्रतिबद्धता लिएर घर पठाएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ऋषिराम शर्माले बताए । ‘उनीहरुसँग प्रतिबद्धता लिएका छौँ, साथै उनीहरुको जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले अनुगमन गर्ने गरेका छौं,’ उनले भने ।

उता, स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा मात्र देशभर नै किट अभाव भएको बताएको छ । किट अभाव भएकाले थप केही दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । ‘हामीले थप केही दिन बस्न भनेका छौं,’ उनले भने ।

नागरिकले नमाने अनिवार्य रुपमा हामे क्वारेन्टाइन बस्न आग्रह गरेका उनले बताए । किट देशैभरी अभाब देखिएको केहि दिनभित्र आउने उनले जानकारी दिए । प्यूठानका जिल्ला बाहिर तथा बिदेशबाट आएका करिब तिन हजार भन्दा धेरै जना जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्