कोरोना बारे सबैलाई बुझ्ने गरी सूचना दिन निर्देशन



काठमाडौँ,  जेठ-७ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसका बारेमा सबैलाई बुझ्ने गरी सूचना दिन निर्देशन दिएको छ। भाइरसका कारण मृत्यु हुनेको शव व्यवस्थापनका लागि गरिएको तयारी सम्बन्धी सूचना नागरिकले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो।

आयोगका प्रवक्ता कमला ओली थापाद्वारा सो विज्ञप्ति जारी गरिएको हो। जारी  विज्ञप्तिमा आमसञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको उचित व्यवस्था मिलाउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै कोरोना भाइरसबाट बच्ने उपायका विषयमा जानकारी दिन स्थानीय भाषाको सञ्चार माध्यमको समेत अधिकतम प्रयोग गर्न सुझाव आयोगले दिएको छ ।

आयोगले स्वास्थ्य सामग्री, सेवा तथा औषधिका बारेमा नियमित तवरले तीनै तहका सरकार र सम्बन्धित स्वास्थ्य संस्थाबाट सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत  भनेको छ । आइसोलेसन, क्वारेन्टाइन, होम क्वारेन्टाइन, सरकारी एवं गैरसरकारी तवरमा निर्मित सङ्घ, प्रदेश, स्थानीय तहका उपचार स्थलमा रहेका नागरिक बारेमा एकीकृत तथ्याङ्कको विवरण सार्वजनिक गर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्