एकता र सहिष्णुताका पूँजीलाई देश निर्माणमा लगाउन प्रधानमन्त्री ओलीको आव्हान



काठमाडौ , जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकता र सहिष्णुताका पूँजीलाई देश निर्माणमा लगाउन आव्हान गरेका छन् । इद उल फित्र खुसियालीपुर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह  गरेका छन् ।

रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहनु भएका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताएका छन् ।

बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा  यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रुपमा रहेको बताउँदै  एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने जनाएका छन् ।

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु मुलुकमा सम्मानित र संरक्षित भएको बताउँदै प्रधानमन्त्रीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्