कोरोना संक्रमण देखिएपछि टोखामा उच्च सतर्कता



काठमाडौँ,  जेठ १३ । कोरोना संक्रमण देखिएपछि टोखामा उच्च सतर्कता अपनाइएको छ।टोखा नगरपालिका–३ र ६ तथा बूूढानीलकण्ठ नगरपालिका–३ मा गरी सोमबार तीन जना पुरुषमा कोरोना सङ्क्रमण फेला परेपछि उच्च सतर्कता अपनाइएको हो ।

सङ्क्रमणसँगै सम्बन्धित क्षेत्रलाई उच्च सतर्कतासँगै सिल गरी परीक्षण अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । सङ्क्रमितहरू टोलछिमेकमा चिरपरिचित तथा विभिन्न पेसा व्यवसाय र सेवामा सक्रिय रहँदै आएका व्यक्ति भएको बताइएको छ । टोखाका २७ र ४१ वर्षीय र बूूढानीलकण्ठका ३७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले दुई जनामध्ये एक जना किराना पसले र अर्को ज्योतिष–पण्डित रहेको जानकारी दिएका छन् । “किराना पसलेलाई कहाँबाट सर्यो भन्ने कुराको टेसिङ भइरहेको छ,” उनले थपे, “अर्का ज्योतिष पण्डित केही दिनअघि कोरोना सङ्क्रमणबाट मृत्युवरण गर्न पुगेकी सिन्धुपाल्चोककी सुत्केरी महिलाका आफन्त हुन् । ”

नगरपालिकासँग नै समन्वय गरी उनीहरू कोरोना परीक्षण गराउन अस्पताल पुगेको थियो । किराना पसलेको श्रीमतीको आरडीटी भने नेगेटिभ आएको जानकारी उनले दिएका छन् । त्यस्तै बूूढानीलकण्ठ–३ का ३७ वर्षीय सङ्क्रमित बन्दाबन्दीको समयमा एम्बुलेन्स नपाएर अस्पताल जान नपाएका बिरामीको सेवामा समर्पित व्यक्ति हुन् । उनले निजी सवारी साधनलाई एम्बुलेन्स बनाएर बिरामीको सेवा गर्दै आएका थिए ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्