अन्तरजातीय प्रेमको दु:खद घटना



काठमाडौँ, जेठ १४  । अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ ।

बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगेका जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका २४ वर्षीय नवराज विकसहित तीन युवाले ज्यान गुमाएको हो । विकसहित १९ युवाको टोली जब बेहुलीको घरनजिक पुग्यो, गाउँलेको आक्रमणबाट ज्यान जोगाउन भागाभाग भयो । त्यति मात्र होइन, ज्यान बचाउन भेरी नदीमा हामफालेका भनिएका ६ मध्ये विकसहित तीन जनाको शव फेला परेको छ । अन्य तीन जना मङ्गलबारसम्म बेपत्ता छन् । १२ युवा घाइते भएका छन् ।

विकसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका–४ का गणेश बुढाको शव फेला परेको छ भने अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बेपत्ता ६ जनामध्ये मङ्गलबार दिउँसोसम्म तीन जनाको शव फेला परिसकेको बताएका छन् । यस्तै भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक अझै बेपत्ता रहेको जानकारी उनले दिएका छन् ।

डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान थालिएको र बेपत्ता भएकाको खोजी जारी राखेको बताएका छन् । विकको चौरजहारी–८, सोतकी मल्ल थरकी किशोरीसँग लामो समयदेखि प्रेमसम्बन्ध थियो । आइतबार ती किशोरीलाई ल्याउन विकसहितको युवाको टोली किशोरीको गाउँ पुगेको थियो । विकको टोलीसँगै जाएका भेरी नगरपालिका–४, खलङ्गाका सुदीप खड्काले किशोरी लिन जाँदा पूरै गाउँ उर्लेर आई युवाहरूलाई आक्रमण गर्दै खेदेको बताएका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

यससँग सम्बन्धित भिडियो हेर्न  तलको लिन्कमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्