एमसीसी सम्बन्धित सम्पुर्ण काम रोक्ने नेकपा सचिवालय बैठकको निर्णय



काठमाडौ,जेठ १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ।सचिवालयको बैठकले एमसीसी पास नभएसम्म यससँग सम्बन्धित कुनै पनि काम नगर्ने निर्णय गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एमसीसीका विषयमा छलफल भएको र बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा एमसीसीबाट प्राप्त सहयोग परिचालन गर्ने भनेर गरिएको व्यवस्थामाथि छलफल भएको हो । प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यक स्पष्टताको निम्ति छलफल भयो। एमसिसीको प्रस्ताव अहिले संसदमा विचराधीन छ। बजेटको त्यो व्यवस्था पनि त्यही अनुसार नै हुने स्पष्ट पारिएको छ ।’

एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको खण्डमा त्यस अनुसार हुने र यदि संसदले अनुमोदन गरेन भने सरकारले आवश्यक वैकल्पिक व्यवस्थाको बारेमा सोचेर अगाडि बढ्ने कुरा अर्थमन्त्री युवराज खतिवडाले बैठकमा स्पष्ट पारेको श्रेष्ठले बताए। खतिवडाले संसदमा पनि त्यसै अनुसार स्पष्ट पार्ने जानकारी गराए।

‘अनुमोदन नभइसकेको अवस्थामा अनुमोदन भएपछि मात्रै गर्न सकिने काम छ, त्यस्ता कामलाई अनुमोदन भएपछि नै गर्ने र त्यससँग जोडिएका अरु कामहरु अनुमोदन नहुँदासम्म रोक्ने अहिले समझदारी भएको छ’, प्रवक्ता श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्