कोरोना भाइरसले खुम्चिएको पर्यटन व्यवसाय



विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) अहिले सम्म विश्वका २१३ वटा राष्ट्रहरूमा फैलिएसकेको छ भने यो रोगबाट विश्वका ६१ लाख भन्दा बढी मान्छेहरू संक्रमित भएका छन् । मानव जीवनमा नै नयाँ मानिने यस रोगका कारण ३ लाख ७१ हजार भन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेको छन् भने अहिले सम्म  नेपालमा पनि यो रोगका कारण ७ जना मानिसको ज्यान गइसकेको छ । यसको प्रभावले विश्व अर्थतन्त्रमा ठूलो समस्या सिर्जना भएको अवस्थामा हाम्रो देश पनि यसबाट अछुतो हुन सकेको भने छैन ।यो रोगको महामारी ले नेपालको पर्यटन व्यवसायमा पनि नराम्रो असर पर्न गएको देख्न सकिन्छ । होटल, रेस्टुरेन्ट, ट्राभल एण्ड टुर्स, ट्रेकिङ, हवाई/सडक यातायात लगायत सम्पूर्ण पर्यटन व्यवसायहरू अहिले ठप्प भएको अवस्था छ ।

नेपाल भ्रमण वर्ष २०२० लाइ सफल पार्दै देशमा २० लाख विदेशी पर्यटक भित्र्याउने राज्यको लक्ष्य पनि असफल भएको छ । राज्यको आम्दानीको बलियो खम्बा मध्ये एक यस पर्यटन व्यवसाय अहिले धरासायी अवस्थामा पुगेको छ । राज्यका लाखौं मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्यटन व्यवसायमा लागेर आफ्नो जीविकोपर्जन गर्दै आएका थिए भने अहिले ती सबै मानिसको आम्दानीको श्रोतमा बुजो लागेको छ । त्यसै पनि आकाशे खेतिझै मानिने यस व्यवसायको अहिलेको अवस्था एकदमै नाजुक बनेको छ । 

नेपालमा विदेशी पर्यटक भित्रिने मौसम सुरु हुन लाग्दै गर्दा  कोरोना भाइरसको महामारीले सम्पूर्ण व्यवसायी निराश भएका छन् भने धेरै पर्यटन व्यवसायीहरु वित्तीय ऋण र त्यसको ब्याज कसरी तिर्ने भन्ने पीरले चिन्तित बनेका छन् । दैनिक मजदुरी गरेर हातमुख जोड्ने पर्यटन व्यवसायमा आश्रित मजदुरहरु जस्तै – गाइड, भरिया, रिक्शा/ट्याक्सी चालक आदिलाई पर्यटन व्यवसाय बन्द हुँदा दैनिक कटाउन धौ- धौ परेको छ भने मासिक तलबमा काम गरेर जिविका चलाउनु मानिसहरूलाई पनि यो खाली समयको तलब नआउने हो कि भन्ने चिन्ताले पिरोलेको छ । 
वर्ल्ड ट्राभल एंड टुरिजम काउन्सिलले तयार परेको नेपाली पर्यटन सम्बन्धित गरिएको एक वार्षिक अनुसन्धानको अनुसार गतवर्ष नेपालमा पर्यटन क्षेत्रले राज्यको कुल अर्थतन्त्रको ६.७ % हिस्सा ओगटेको थियो भने पर्यटन व्यवसायबाट राज्यको कुल रोजगारीमा ६.९ % यो व्यवसायबाट लाभान्वित थिए तर कोरोना भाइरसको महामारीको यो वर्ष भने सबै पर्यटन व्यवसायीहरुलाई निराश तुल्याइएको छ ।
 

यो महामारी आफै सिर्जित भएको कारणले गर्दा कोहीपनि यसबाट विचलित नभई महामारी सकिनासाथ सबै पर्यटन व्यवसायीहरु मिली आन्तरिक पर्यटनको विकाशमा जोड दिनुपर्छ र विदेशी पर्यटकहरूलाई पनि नेपाल घुम्न आउन सुरक्षित छ भनी विश्वस्त बनाउन आवश्यक तयारी गर्नुपर्छ । राज्य तर्फबाट पनि पर्यटन व्यवसायलाई अगाडि बढाउन विभिन्न तयारीहरु गर्न आर्थिक वर्ष २०७७/७८ मा आकर्षक योजनाहरु ल्याउने भएको छ । जस अन्तर्गत सुरक्षित/नियमित/विश्वसनीय हवाई सेवाको लागि गुणस्तरीय हवाई सेवा निर्माण गर्ने, अन्तराष्ट्रिय हवाई सेवालाई बढाउने, गौतमबुद्ध अन्तरिष्ट्रिय  विमानस्थल सञ्चालनमा ल्याउने, भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रा उपत्यकाका अन्य शहरहरुमा विस्तार गर्ने जस्ता पर्यटन व्यवसायलाई  अगाडि बढाउने धेरै कार्ययोजनाहरु अघि सारेको छ ।

लेखक – सुमन काफ्ले (व्यवस्थापक : गाे पिस वर्ल्ड ट्राभल एण्ड टुर्स प्रा. ली) विगत १० वर्ष देखि पर्यटन व्यवसायी – टुर/ट्रेकिङ गाइड

प्रतिक्रिया दिनुहोस्