कोरोना संक्रमित भैंसी गोठमा,कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी



काठमाडौ,जेठ २१ । विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र आर्थिक विपन्नताले भारत पसेका मजदुरलाई गाउँ फर्किएपछि क्वारेन्टाइन नामका गोठमा राखिएको छ। नागरिकलाई पशुजस्तै गोठमा राख्ने प्रदेशका सभाभुखले पौन दुई करोडको गाडी किनेको खबर सार्वजनिक भएको छ।

गाडीको मूल्य प्रदेशको आर्थिक हैसियत र नियमावलीविपरीत भएको भन्दै आर्थिक मामिला मन्त्रालयले स्वीकृति दिन अस्वीकार गरेको छ । तर, सभामुखले गाडी काठमाडौंको युनाइटेड ट्रेड सिन्डिकेटबाट एक करोड ७२ लाखमा टोयोटा हाइल्यान्डर लगेर सुर्खेत र दैलेख घुम्न थालिसकेका छन्। प्रदेशका सभामुखकै निर्वाचन क्षेत्र दैलेखको भैरवी गाउँपालिका– ३ को देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका चारजनामा र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनको नाममा अस्पतालमा होइन, भैंसीगोठमा राखिएको छ ।

आरडिटी पोजेटिभ देखिएपछि चिकित्सकको निगरानीमा राख्ने, पिसिआर टेस्ट गर्ने र स्वास्थ्य हेरचाह गर्नुपर्नेमा प्रहरी लगाएर गोठमा पठाइएकोमा प्रदेश र देशमा विरोध भइरहेको छ । ‘हामीसँग अरू पूर्वाधार छैन, देशको आर्थिक अवस्था सबैलाई थाहा छ, त्यसैले र्यापिड टेस्टमा पोजेटिभ देखिएका चारजनालाई नजिकैको भैँसीगोठमा राखिएको हो,’ गाउँपालिका अध्यक्ष प्रेम बुढाले भने ।

जनतालाई न्यूनतम मानवीय व्यवहार गर्न पनि देशको आर्थिक अवस्था सम्झनुपर्ने प्रदेशका सभामुख भने आफूले किनेको विलासी गाडीको भुक्तानी गराउन मिहिनेत गरिरहेका छन् । हुन त सभामुखले लकडाउनभन्दा अघि नै काठमाडौंबाट आफैँ गाडी लगेका हुन्। गाडी प्रदेश सभा सचिवालयको नाममा कर्णाली प्रदेश ००२ झ ००९३ को नाममा दर्ता भएको छ । तर, खरिद प्रक्रिया आर्थिक नियमावलीविपरीत भएको भनेर सरकारकै अधिकारीहरूले भुक्तानी रोकिदिएका छन्।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्