सय भन्दा कम संक्रमित रहेका जिल्लामा लकडाउन खुकुलो गर्ने सरकारको तयारी 



काठमाडौ,जेठ २४ । सरकारले सयभन्दा कम कोरोना संक्रमित भएका  जिल्लाहरुमा जेठ २५ देखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जस अन्तर्गत काठमाडौ सहित नुवाकोट, रसुवा,धादिङ,काभ्रेपलान्चोक लगायतका सय भन्दा कम संक्रमित रहेका जिल्लामा क्रमशः लकडाउन खुकुलो हुने देखिएको हो ।

त्यस्तै सरकारले ब्यापार व्यवसायलाई पाँच भागमा विभाजन गर्दै जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म सम्भावित जोखिमलाई आकलन गर्दै अगाडि बढ्ने तयारी समेत गरेको छ ।उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रबार केही मन्त्रीहरुसँग लकडाउनको अहिलेको अवस्था परिवर्तन गर्नेबारे अनौपचारिक छलफल गरेका छन् । छलफलमा असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे प्रस्तावित योजनामाथि परामर्श भएको छ ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । तर, यसबीचमा प्रधानमन्त्रीले आयोजना गरेको विज्ञहरुको छलफलमा लकडाउनको अहिलेको तरिका परिवर्तन गर्न सुझाव आएको थियो । सुझावअनुसार शनिवारसम्म प्रस्ताव तयार गर्न समितिलाई मन्त्रिपरिषदले जिम्मा दिएको छ ।

सम्भवतः ढिलोमा आइतबार बस्ने मन्त्रिपरिषद बैठकले यस विषयमा थप  निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्