लकडाउन बीच चिनियाँ राजदूत पाण्डेको विदाई



काठमाडौ,जेठ २६ । देशमा लकडाउन भैरहेको बेला सत्तारूढ दलकै नेताकार्यकर्ताबाट सरकारद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्दै नवनियुक्त चिनियाँ राजदूत महेन्द्रबहादुर पाण्डेलाई विदाई गरिएको छ।

सरकारले अत्यावश्यक सेवा बाहेकका कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरिरहेकै बेला नुवाकोट सरोकार समाजले चीनको लागि नवनियुक्त राजदूत डा. महेन्द्रबहादुर पाण्डेलाई चीनको बेइजिङतर्फ प्रस्थान गर्न लाग्दा आइतबार एक भव्य कार्यक्रमको आयोजना सहित विदाई गरिएको हो।

काठमाडौंस्थित शिवपुरी माध्यमिक विद्यालयको हलमा गरिएको बधाई तथा विदाई कार्यक्रममा न त उपस्थित सबैले नै स्वास्थ्य सुरक्षाका विधि अपनाएका थिए न विश्व स्वास्थ्य संगठनको मापदण्डको आधारमा गरिएको नै थियो ।

कार्यक्रममा बोल्दै नवनियुक्त राजदूत पाण्डेले नेपाल स्वतन्त्रतामा रमाउन चाहने स्वतन्त्र राष्ट्र भएको तर यसो भन्दैमा कसैको थिचोमिचो सहन नसक्ने बताए । शालीन नेताका रुपमा परिचित रहेका पाण्डे राजदूत भइ कार्यभार सम्हाल्नको लागि जान लाग्दा कार्यकर्ताको कारण यहाँ भने चुकेका छन्।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद, प्रदेश सांसद, स्थानीयतहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत सत्ताधारी दलका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। राजदूत पाण्डेलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

सय बढी सहभागी सभा हल

जिल्ला तथा स्थानीयस्तरमा सुरुका दिनदेखि राहत वितरण कार्यक्रमका नाउँमा लकडाउन उलंघन हुँदै आएपनि सोही समयमा नुवाकोटका नेताकार्यकर्ताको बाक्लो उपस्थिति बीच भएको कार्यक्रम भन्दै सामाजिक संजालमा यस्को आलोचना सुरु भएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण आईतबारसम्ममा नेपालमा १३ जनाको मृत्यु भइसकेको छ भने ३४ सय ४८ जना संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्