विद्युतीय रेलमार्ग निर्माण गर्न करिब सात सय बिघा जग्गा अधिग्रहण



काठमाडौ,जेठ २८ । विद्युतीय रेलमार्ग निर्माण गर्नका लागि  करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको छ ।

मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टादेखि इनरुवा खण्ड सम्म  करिब सात सय बिघा जग्गा अधिग्रहण गरिएको हो ।

रेल मार्गको लागि नै कुल ६ सय ७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेसँगै रेलमार्ग निर्माणले अब गति लिने विश्वास गरिएको छ । उक्त खण्डको १ सय ६ किलोमिटर लामो रेल मार्गका लागि सो जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो ।

रेल मार्गको सो खण्डको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र सुनसरीले अलग अलग सार्वजनिक सूचना जारी गरी जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाएका छन् ।

रेल विभागका इन्जिनियर विनोदकुमार ओझाका अनुसार काँकरभिट्टा–इनरुवा खण्डमा रेलमार्ग निर्माण गर्न झापामा ३ सय ३७ बिघा, मोरङमा २ सय ३१ बिघा १० कट्ठा र सुनसरीमा १ सय ४ बिघा १८ कट्ठा जग्गा अधिग्रहण गर्न लागिएको हो । त्यसैगरी उक्त तीनवटै जिल्लामा चार हजार १ सय ७१ कित्ता जग्गा अधिग्रहण गरिनेछ जस अन्तर्गत झापामा दुई हजार दुई कित्ता, मोरङमा एक हजार ३ सय ५७ कित्ता र सुनसरीमा ८ सय १२ कित्ता जग्गा अधिग्रहण हुँदैछ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा अधिग्रहण गरिनेछ ।

आगामी आर्थिक वर्ष तय गरिएको नीति तथा कार्यक्रममा समेत मेची–महाकाली विद्युतीय रेल मार्गको काँकरभिट्टा–इनरुवा खण्डको निर्माण कार्य समावेश गरिएको छ । काम पनि सुरु गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । मेची–महाकाली विद्युतीय रेल मार्गकोे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यसअघि नै तयार भइसकेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्