कामदारकै खर्चमा बिदेशबाट उद्धार गरिने



काठमाडौं ,जेठ ३० । सरकारले जुन १४ अर्थात् जेठ ३२ गतेबाट विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गरी स्वदेश फर्काउने अभियान सुरु गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार निर्णय गर्दै नेपाल उड्डयन प्राधिकरण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारीका लागि निर्देशन समेत दिइसकेको छ। कोभिड १९ को कहरका कारण सम्पूर्ण विश्वकै व्यवसाय ठप्प भएको छ भने सिमानाका तथा उडान बन्द गरी लकडाउन भइरहेको अवस्थामा विदेशमा अलपत्र परेका नेपाली भित्र्याउन सरकारले काम सुरु गर्न लागेको हो।

११ दिनको कार्यतालिका बनाएर २५ देशमा उद्दारका लागि पर्खिरहेका नेपाली स्वदेश फर्काउने निर्णय भएको मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेले जानकारी दिए। १४ तारिकको पहिलो उडान नेपाल एयरलाइन्सले बंगालादेशका लागि गर्ने तय भएको लामिछानेले बताए। नेपालीको उद्दार उडानका लागि सरकारले नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स र निजी विमान कम्पनी हिमालय एयरलाइन्सलाई तोकेको छ भने नेपाल उडान भर्दै आएका विदेशी विमान कम्पनीले पनि नेपाली ल्याउने उनको भनाइ छ। सम्बन्धित मुलुकको यात्रु भाडादर पनि सरकारले निर्धारण गरेको छ। हवाई इन्धनको मूल्य सस्तो भएकाले विमान कम्पनी तथा यात्रुलाई मर्का नपर्ने गरी भाडादर तय गरिएको सरकार बताउँछ। नेपाल फर्किदा लाग्ने हवाई भाडा भने सम्बन्धित यात्रुले नै व्यहोर्ने पर्ने लामिछानेले बताए। यो अवधिमा करिब १२ हजार नेपालीलाई स्वदेश फर्काउने उनको भनाइ छ।

यता, नेपाल उड्डयन प्राधिकरणले पनि सरकारको निर्देशन प्रसारण गर्दै आवश्यक तयारीका लागि विमानस्थल तथा तोकिएका दुवै विमान कम्पनीलाई भनिसकेको प्रवक्ता राजकुमार क्षेत्रीले बताए। यहाँबाट विमान बाहिरिँदा र काठमाडौं अवतरण गरेपछिको सबै प्रक्रिया स्वास्थ्य मापनलाई ध्यान दिएर नै गरिने उनको भनाइ छ। दैनिक ५ देखि ७ वटा सम्म उडान तालिका रहेकोमा नेपाल भित्रिने नेपालीको उचित व्यवस्थापन गर्ने गरी तयारी पूरा भइसकेको प्रवक्ता क्षेत्रीले बताए। बिहीबार नै कुवेत सरकारको पहलमा जजिरा एयरवेजले नेपालका लागि २ वटा उडान मार्फत् २९९ नेपाली लिएर आएको प्रवक्ताले जानकारी दिए। कूटनीतिक पहलमा उक्त जहाजले त्यहाँ रहेका नेपाली लिएर आएको बताइएको छ। यसअघि जुन ५ मा म्यानमार र यूएईबाट १९४ जना नेपाली भित्रिसकेका छन्।

कुल ६७ वटा उडान हुनेमा नेपाल एयरलाइन्सको २ वटा वाइडबडी ए ३३० र ए३२० ले २४ वटा उडान भर्नेे तथा हिमालय एयरलाइन्सको ए३२० ले १९ वटा उडान भर्ने बताइएको छ। २४ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाली लिएर काठमाडौं आउने तालिका बनाइएको छ। विमान चार्टर्डका लागि कम्तीमा ८५ प्रतिशत सिट भरिएको हुनुपर्ने र कोरोना जाँचको स्वास्थ्य प्रमाणपत्र अनिवार्य हुनुपर्ने सरकारद्वारा जारी निर्देशनमा भनिएको छ। उडानका लागि वायुसेवा संस्थाले सम्बन्धित दूतावाससँग समन्वय गर्न र टिक व्यवस्थापनका लागि पनि आफैले निर्धारण गर्नपर्ने उल्लेख छ। विमानस्थलको प्रक्रिया सकिएपछि नेपाली सेनाले होल्डिङ सेन्टर सामान्य चेकजाँचपछि प्रादेशिक क्वारेन्टाइनमा पठाउनेछ।

अलपत्र परेका नेपाली भित्र्याउन नेपाली वायुसेवा संस्थाले ४३ उडान भर्ने तय भइरहँदा नेपालमा रहेका ट्राभल एजेन्सीले समूहगत रूपमा हवाई टिकटको व्यवस्थापन गर्न पाउनुपर्ने पर्यटन मन्त्रालयसँग माग राखेका छन्। नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स(नाटा) ले पर्यटनमन्त्री तथा पर्यटन सचिवलाई भेटेर नेपाली भित्र्याउँदा हुने हवाई टिकट व्यवस्थापनको जिम्मा नपाली एजेन्सीले पाउनुपर्ने माग राखेको महासचिव सुधिर उपाध्यायले जानकारी दिए। कोरोनाका कारण थला परेको व्यवसायलाई यसले केही भए पनि राहत पुग्ने नाटाको भनाइ छ।

यो समाचार  आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्