अमेरिकाले एमसीसी इन्डो-प्यासिफिकको अंग होइन नभनेकाले संसद्‌मा नल्याइयोस् : सांसद हितबहादुर तामाङ



काठमाडौ,असार ४ । सत्तारुढ नेकपाका सांसद हितबहादुर तामाङले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा दलहरूबीच विवाद रहेको र उक्त सम्झौता इन्डो-प्यासिफिक सैन्य गठबन्धनको अंग भए/नभएको बारेमा अमेरिकाले स्पष्ट नपारेकाले संसद्‌मा नल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद तामाङले एमसीसी सम्झौतामा गरिएको हस्ताक्षर पनि असमान भएको बताएका थिए । उनले भने, ‘एमसीसी नेपालमा प्रवेश गरेको छ । एकातिर सरकार छ, अर्कोतिर एमसीसी भन्ने कम्पनी छ । एकातिर नेपालको मन्त्रीले हस्ताक्षर गर्नुभएको छ । अर्कोतिर एमसीसीको सहसचिवस्तरको कर्मचारीले हस्ताक्षर गरेको छ ।’

दलहरूबीच एमसीसीबारे विवाद रहेको र अमेरिकाले उक्त सम्झौता सैन्य गठबन्धनको अंग भए/नभएबारे प्रस्ट नपारेको पनि तामाङको भनाइ थियो । ‘एमसीसी इन्डो-प्यासिफिकको अंग होइन भनेर अहिलेसम्म अमेरिकाले बोलिराखेको छैन । दलहरूको बीचमा एकरुपता छैन । छलफल चलिराखेको छैन । त्यसैले यस विषयलाई सदनमा नल्याइयोस्,’  उनले भने ।

राष्ट्रियताको विषयलाई लिएर नेपालमा राष्ट्रिय एकता भएको अवस्थामा भारतसँग उसले मिचेको नेपाली भूमिबारे वार्ता हुन नसक्नु दुखद् भएको सांसद तामाङको भनाइ थियो । यसैबेला नेपालका दुई छिमेकीबीच युद्धको अवस्था आउनु झन् नराम्रो भएको उनले बताए ।

त्यस्तै, ठीक यसैबेला काठमाडौंमा हतियारधारी व्यक्तिहरूको आवतजावत बढेको भन्ने सूचना आएकोबारे पनि सांसद तामाङले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘काठमाडौंका ठूला होटलहरूमा हतियारसहितका मानिस बसिरहेका छन् । धार्मिक स्थलहरूमा हतियारसहित मान्छेको आवतजावत बढिराखेको छ भन्ने चर्चामा आइराखेको छ । यसको यथार्थ के हो ? यसबारे नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद तामाङले भने ।

संसदमा सांसद तामाङले व्यक्त गर्नुभएको भनाइ हेर्नुस्

प्रतिक्रिया दिनुहोस्