मुलुकभर बाढीपहिरोको जोखिम,१२ दिनमा १७ जनाले गुमाए ज्यान



काठमाडौ,असार ११ । मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले विना इन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडकले विपद् निम्त्याउने भूगर्भविद्हरू बताउँछन् ।

यस वर्षको मनसुन गत १२ जुनमा मुलुकमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन विगतको तुलनामा बढी सक्रिय भएकाले यो वर्षको मनसुनलाई राम्रो मनसुनका रूपमा लिन सकिने मौसमविद्ले बताएका छन् ।

यस वर्ष सातै प्रदेशमा मनसुनी वायु सक्रिय हुँदा केही बाढीपहिरोका घटना भएको पाइएको छ । भारी वर्षाको सम्भावना भएकाले पनि प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने महाशाखाले औंल्याएको छ । महाशाखाले जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैमा आह्वानसमेत गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुको सुरुवातमा प्राकृतिकसँगै गैरप्राकृतिक विपद्का घटना बढेको जनाएको छ । मनसुन सुरु भएको १२ दिनमा १७ जनाले पहिरोका कारण ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १२ दिनमा ४० स्थानमा पहिरो गएको छ । ४० पहिरोका कारण ४१ परिवार प्रभावित भएका छन् । गएका १२ दिनको अवधिमा १० पुरुष र ७ महिलाले पहिरोमा परी ज्यान गुमाउनुपरेको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी र यसका शाखा नदीमा पानीको बहाव तुलनात्मक रूपमा बढ्ने र कर्णाली, महाकालीमा सामान्य बढ्नेछ । यसैगरी, कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । आगामी केही दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो जानेसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

३१ जेठबाट सुरु भएको मनसुनसँगै विपद्का घटना हुन थालेका छन् । प्रदेश ४, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा बाढीपहिरोका घटना भएको विपद् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाल्पामा ४ र लमजुङमा एक पहिरोको घटना भएका छन् भने चार जनाले ज्यान गुमाउनुपरेको छ । वर्षभरि पर्ने पानीमध्ये ७५ प्रतिशत पानी मनसुनको अवधिमा अर्थात् जुनदेखि सेप्टेम्बरमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही अवधिमा नेपालमा बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण बर्सेनि ठूलो जनधनको नोक्सानी हुने गरेको छ ।

विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी हुन नसक्दा जनधनको ठूलो नोक्सानी हुने गरेको विपद् विज्ञहरू बताउँछन् । नेपालमा प्रतिवर्ष विभिन्न विपद्बाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक तीन सय जनाको मृत्यु बाढीपहिरोका कारण मात्रै हुने गरेको छ । सबैखालका विपद् गरेर नेपालले हरेक वर्ष औसतमा १ अर्ब २१ करोड रुपैयाँबराबरको नोक्सानी बेहोर्नुपरेको छ । अनौठो लाग्दो कुरा के छ भने नेपालमा विकासको दर ३ देखि ४ प्रतिशत रहेको छ भने विभिन्न विपद्ले विनाश गर्ने दर ८ देखि २५ प्रतिशतसम्म हुने गरेको विभिन्न तथ्यांकमा उल्लेख छ । यो वर्ष कोरोना भाइरसको संक्रमण नियन्त्रणतर्फ पनि सरकारले बढी ध्यान दिनुपर्ने कारणले झनै चुनौती थपिएको छ ।

यो समाचार राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्