टोखामा श्रीमानद्वारा चक्कु प्रहार गरी श्रीमतीको हत्या



काठमाडौ,असार ११ । टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पछिल्लो समय श्रीमतीको काममा मन नपराएका श्रीमान कृष्णहरि बानियाँले चक्कु प्रहार गरी श्रीमती सरिना खड्का बानियाँको हत्या गरेका हुन।

श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । श्रीमान भने व्यापार गर्थे। बेलाबेला घरमा झैं–झगडा भइरहने उनीहरुको बुधबार राति भने झगडाले उग्ररुप लियो।

मादक पदार्थ सेवन गरेका कृष्णहरिले आवेशमा सरिनालाई चक्कु प्रहार गरे । सरिनाको घटनास्थलमै मृत्यु भयो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले प्रहरी पुग्दा सरिनाको मृत्यु भइसकेको बताए । हत्याको कारण परिवारिक कलह भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।

“पक्राउ परेका आरोपी यतिबेला केही बताउन सक्ने अवस्थामा छैनन्,” डीएसपी खड्काले भने, “ हामी अनुसन्धान गरिरहेका छौं।”

प्रहरीका अनुसार सरिनाको उमेर ४० वर्ष थियो कृष्णहरि भने ४३ वर्षका । मागी विवाह भएका उनीहरुका १२ वर्षका छोरा छन्।

प्रतिक्रिया दिनुहोस्