शनिबार मात्रै विभिन्न देशबाट ९५७ नेपाली स्वदेश आइपुगे



काठमाडौ,असार १४ । शनिबार मात्रै विभिन्न देशबाट चार्टर र अन्य उडानमार्फत ९५७ नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाका कारण विभिन्न देशमा समस्यामा परेका ती नेपाली नागरिक स्वदेश फर्किएका हुन् ।

कतारको दोहाबाट २४१, हङकङबाट ८१, संयुक्त अरब इमिरेट्स (यूएई) बाट १४६, साउदी अरबको दमामबाट हिमालय एयरमार्फत १५४, साउदीकै रियादबाट नेपाल एयरलाइन्सबाट २५४ र कुवेतबाट ८१ जना नेपाली स्वदेश आइपुगेका हुन् । साउदीको रियादबाट बन्दाबन्दीका कारण लामो समयदेखि रोकिएका १५ वटा शव पनि ल्याइएको छ ।

साउदीस्थित नेपाली दूतावासले कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुनः प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरू कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्