बाल कथाकार माधव बिडारीको ‘पुतली’ पुस्तक–समीक्षा
• वासुदेव गुरागाईं
‘पुतली’ वि. सं. २०७६ कार्तिकमा प्रकाशनमा आएको बालकथा सङ्ग्रह हो । विद्यालय तहका साना बालबालिकालाई लक्ष्य गरेर लेखिएको ‘पुतली’ लाई प्रकाशनमा ल्याउने संस्था हो – ‘गौरी पब्लिक रिलेशन एन पब्लिकेशन ।’ यस संस्थाले यस्ता थुप्रै बालसामग्री प्रकाशनमा ल्याइसकेको छ र यसलाई राम्रोसँग रुचाएका पनि छन् साहित्य प्रेमी अध्येता बालबालिकाहरूले ।
‘पुतली’ लाई बालकथाका रूपमा आकार दिने काम नवकथाकार माधव बिडारीले गरेका हुन् । शिवपुरी साहित्य समाज, छहरा साहित्य प्रतिष्ठान र मनमती साहित्य समाजसँग निरन्तरको साहित्यिक साइनोमा गाँसिएका बिडारीको पुस्तकाकार रूपमा यो पहिलो कृति हो । वि. सं. २०३९ माघे सङ्क्रान्तिका दिन पहिलो पटक पृथ्वीको उज्यालो नियालेका कथाकार माधव बिडारी पछिल्लो समय कलमसँग निरन्तर खेलिरहने जाँगरिला स्रष्टा हुन् । उनी गीत, गजल, मुक्तक र हाइकुमा बढी कलम चलाउने स्रष्टा हुँदाहुँदै पनि उनले पाठकलाई पत्तै नदिई आफ्नो पहिलो कृतिका रूपमा गद्य विधाको बालकथा सङ्ग्रह प्रकाशनमा ल्याए । यस कार्यका लागि उनलाई सर्वप्रथम त बधाई दिनैपर्छ । नेपाल बालसाहित्य समाजका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको शुभकामना मन्तव्य रहेको ‘पुतली’ नामधारी यस बालकथा सङ्ग्रहमा ससाना छ वटा कथा सङ्गृहित छन् ।
कथा छोटो समयमा पढ्न सकिन्छ । फुर्सदको समय सधैँ विद्यालयको गृहकार्यले थिचिएका यतिखेरका साना भाइबहिनीहरूलाई छोटो समयमा पढ्न सकिने यस्ता बालसामग्री निकै उपयोगी हुन्छन् । यस अर्थमा बालकथाकार माधव बिडारीको ‘पुतली’ बालकथा सङ्ग्रह सफल छ । चित्रात्मक प्रस्तुतिसहितको यस बालकथा सङ्ग्रहमा सङ्ग्रहित सबै कथा सरल भाषामा सहज ढङ्गबाट आरम्भ गरेर त्यस्तै किसिमबाट समाप्तितिर पुर्याइएको छ । कथामा उठाइएका विषयवस्तु रोचक छन् । बालमैत्री कथानक छन् । साह्रै अनौठा विषयवस्तु छैनन् । कुनै कथा सपनाका छन्, कुनै विपनाका । कतिपय कथा बालबालिकाले पढेर मात्र पुग्दैन, तिनका अभिभावकले पनि पढ्नुपर्ने र मनन गर्नुपर्ने अवस्थाका छन् । कथामा बच्चालाई प्रत्यक्ष रूपमा उपदेश दिइएको छैन तर कथा सन्देशमूलक छन् । कथाले दिन खोजेको सन्देश पाठक बालबालिकाले कथा पढ्दै गर्दा सहजै ग्रहण गर्न सक्छन् । यो यस बालकथा सङ्ग्रहका कथाको सबल पक्ष हो ।
‘पुतली’ बालकथा सङ्ग्रहमा उपस्थित गराइएका कथाका पात्रहरू नौला र उदेकलाग्दा छैनन् । कथामा वर्णित पात्रहरू ब्राह्मणक्षेत्री समुदायका देखिन्छन् । तथापि, यिनमा कतिपय मिशन, डेभिट जस्ता आधुनिक नामका पात्र पनि उपस्थित छन् । यसले समाजको नयाँ सोच र संस्कृतिसँग कथाकार नजिक छन् भन्ने बोध गराउँछ । ‘पुतली’ बालकथा सङ्ग्रहको पहिलो कथा हो – ‘अन्तरिक्षको यात्रा ।’ यो कथा एउटा सानो गाउँको हो, जहाँ खेती किसानी र पशुपालनमा लागेका किसानहरूको बस्ती छ । त्यहाँका बासिन्दाको आयआर्जनको स्रोत गाउँको उत्पादन नजिकैको सहरमा पुर्याएर आम्दानी हुने गर्छ । शिक्षाप्रति लगाव रहेका गाउँलेले आफ्ना गाउँमा विद्यालयको व्यवस्था पनि गरेका थिए । आफ्ना बालबालिका त्यसै विद्यालयमा पढाउँथे । त्यसैमध्ये रामराजा नाउँ गरेको एउटा किसानको छोरो मिशनले विज्ञान विषयको पढाइका क्रममा अन्तरिक्ष यान र त्यसमा मानिसले यात्रा गरेको कथा पढेपछि उसलाई वैज्ञानिक बन्ने, अन्तरिक्ष यान बनाउने र अन्तरिक्षमा घुम्ने रहर जाग्छ । सिक्ने क्रममा उसले धेरै किसिमका विद्युतीय सामग्री बिगारेको, त्यसवापत पिटाइ खाएको अवस्था हुँदा पनि उसको त्यो बानी नहटेको, बरु उल्टै उसले आफूल चाहे जस्तो यान बनाएर अन्तरिक्षमा घुम्न गएको, त्यस क्रममा त्यहाँको विभिन्न अनुभव प्राप्त गरेको कुरा कथामा वर्णित छ । तर, यस कथाको समाप्ति सपनामा लगेर टुङ्ग्याइएको छ । तथापि, कथा मिठो छ ।
सङ्ग्रहको दोस्रो कथा हो – ‘पहिलो विद्यालय ।’ यसमा पनि एउटा गाउँको विद्यालय र यसको सेरोफेरोको कथा छ । अशिक्षित गाउँलेहरूलाई बल्लतल्ल मनाएर बालबालिकालाई विद्यालय जाने बनाउँछन् विद्यालयका प्रधानाध्यापक । यसमा स्थानीय तहमा राजनीतिक कर्मीको पनि सहयोग रहन्छ । घरमा राम्रो बानीबेहोर भएको दिपेश नामक एउटा बच्चा विद्यालय जान थालेपछि घरमा फोहर कुरा बोल्न थाल्छ । यस कुराको रहस्य खोतल्दै जाँदा उसको एउटा साथी ओजेशले त्यस्तो बोल्ने गरेको र उसैबाट यो कुरा सिकेको पत्ता लाग्छ । ओजेशबाट उसले कुटाइ खाएको कुरा पनि ऊ बताउँछ । दिपेशका बुवा, – जो स्थानीय तहका राजनीतिककर्मी पनि हुन्, र विद्यालयका प्रधानाध्यापक दुवै मिलेर ओजेशका घरमा पुगेर उनका बाबुलाई यी कुरा बताउँछन् । छोराको बानीबेहोराप्रति अनभिज्ञ रहेका उनले आफूले मदिरासेवी भएका कारण घरमा जथाभावी बोल्दा छोराले पनि त्यो सिकेको स्वीकार्छन् । अनि, दिपेशका बुवा र प्रधानाध्यापक उनलाई बालबालिकाको पहिलो विद्यालय भनेको घर हो भन्ने कुरा विभिन्न कोणबाट बुझाएर सौहार्दपूर्ण रूपमा फर्केको कथा यसमा वर्णित छ ।सङ्ग्रहको तेस्रो कथा हो – ‘खराब सङ्गतको परिणाम ।’ यस कथामा चुच्चे पहाड र गुराँसे पहाडका जनावरहरूको कथा छ । दुवै पहाडमा सिंह राजा छन् । यी मानव जस्तै बोल्छन् । प्रसङ्गवश कुनै बेला दुई डाँडाका राजाको बातचित हुन्छ । चुच्चे डाँडा राज्यका जनावरहरूको मिलन राम्रो छ तर गुराँसे डाँडाकाको छैन । यस कुरामा ईष्र्या छ गुराँसे डाँडा राज्यको राजालाई । उसले चुच्चे डाँडाका जनावर कमजोर भएको कुरा त्यहाँको राजालाई बताउँछ । यसो हुनुमा त्यहाँ स्याल नहुनु हो भन्ने कुरामा विश्वास दिलाउँदै सहयोगस्वरूप आफुले स्याल उपलब्ध गराउने आश्वासन दिन्छ र पठाउँछ पनि । ती स्यालका कुरामा पहिला त चुच्चे डाँडाका जनावर विश्वास गर्छन् तर पछि ती स्यालको चलाखी बुझेपछि तिनलाई वास्ता गर्न छाड्छ्न् । अन्ततोगत्वा ती स्यालहरू आफ्नो पुरानो राज्यमै फर्कन्छन् । यो कथा प्रतीकात्मक हुँदाहुँदै पनि उत्तिकै बालप्रेमी पनि छ ।
‘पुतली’ यस बालकथा सङ्ग्रहको शीर्ष कथा हो । यस कथामा एउटा सात वर्षीय बालक पात्र छ । वरपर घरछिमेकी छैनन् । बाबुआमा दिनभर काममा जान्छन् । ऊ डराइडराई घरमा बस्न बाध्य हुन्छ । बस्छ । उसमा आफु अलिक ठुलो हुन पाए घरमा बसिरहन नपर्ने, बाख्रा चराउन जान पाइने र त्यहाँ थुपै्र साथी बनाउन पाइने इच्छा जाग्रत हुन्छ । यस्तै कुरा मनमा खेलाउँदै गर्दा ऊ आफ्नै बारीमा खेल्न पुग्छ । त्यहाँ पुग्दा बारीका डिलतिर फुलेका फुलमा एउटा आकर्षक रङ्गीबिरङ्गी पुतली देख्छ । ऊ पुतलीको नजिकै जान्छ । नजिकबाट नियालेर हेर्छ । खुब रमाउँछ ऊ । पुतली भाग्दैन । सात वर्षीय बालक लोकबहादुर यो फुलको बोट नै पुतलीको घर हो भन्ने सम्झन्छ र त्यसलाई केही नगरीकन फर्कन्छ । अर्को दिन पनि ऊ त्यस पुतलीलाई हेर्न जान्छ तर पुतली हुँदैन । ऊ रुन्छ । कराउँछ । खाना नखाई सुत्छ । सपनामा त्यही पुतली देख्छ । पुतलीले उसलाई म आकाशकी परी हुँ, अब तिमीसँग खेल्न तिम्री बहिनी छिन् म आउँदिन, तिमीलाई सम्झन्छु मात्र भनेर उड्छे । बिहान उठेर ऊ आफ्नी बहिनीलाई निकै नियालेर हेर्छ र उसमा त्यही पुतलीको रूप पाउँछ । अनि, ऊ त्यो रङ्गीचङ्गी पुतली सधैँ आफ्नो साथी भएको महसुस गर्छ र खुसी हुन्छ ।
सङ्ग्रहको चौथो र पाँचौँ कथा क्रमशः ‘रविको रमाइलो शनिबार’ र ‘ज्यादा माया’ हो । रविको रमाइलो शनिबारमा फन पार्क घुम्न जान बाबुबाट पहिला नै आश्वासन पाएको दश वर्से एउटा बालक हुन्छ । भोलिको शनिबार । उसलाई रातभर निद्रा लाग्दैन । कतिखेर उज्यालो हुन्छ भन्ने उत्सुकतामा ऊ रहन्छ । बिहानैदेखि ऊ सबै कुरामा ताकेता गर्छ । फनपार्क घुम्न जान्छ । त्यहाँका सबै गतिविधिले उसलाई मोहित बनाउँछ । त्यसमाथि बाबाले एउटा कथाको किताब पनि उसलाई किनिदिन्छन् । उसलाई कतिखेर घर पुगेर त्यो कथा पढुँझै लाग्छ । कथा पढेपछि ऊ आफूल ले जानेको कथा अरूलाई पनि सुनाउँछ । ऊ कथाप्रिय छ । घरमा सुत्नुअघि पनि हजुरआमाका मुखबाट कथा सुनेर मात्र निदाउने ऊ सपनामा पनि फनपार्कको रमाइलो अनुभूति गर्छ । यसरी नै सङ्ग्रहको छैठौँ तथा अन्तिम कथा ‘ज्यादा माया’ मा एउटा सर्वसम्पन्न साहु र उसको बच्चाको कथा वर्णित छ । बाबुमा व्यापार व्यवसायबाट धन कमाउनेभन्दा अरू ध्यान छैन । बच्चालाई चाहेजति, मागेजति पैसा दिन्छ । घरपरिवार सबैले उसलाई त्यसै गर्छन् । बच्चो बिग्रँदै जान्छ र अन्तिममा ऊ गलत खानपान र व्यवहारमा फस्छ र ऊ एक्कासि नसोचेको दुर्गतिमा पुग्छ । उसलाई सुधारगृहमा राख्नेसम्मको काम पनि हुन्छ । एक्कासि घरबाट अलग्गिनु परेपछि ऊ छटपटाहटमा पर्छ । उम्कने प्रयास गर्छ । सुध्रने वाचा गर्छ तर भाग्ने क्रममा ऊ अभैm दुर्घटनामा परेर कथा टुङ्गिन्छ । बच्चालाई ज्यादा माया मात्र हैन, सुमार्गको ध्येयले वास्ता पनि गर्नुपर्छ भन्ने गहन सन्देश कथाले दिएको छ ।पुस्तक कुनै पनि बालबालिकाका लागि गुरु पनि हो । शिक्षकपछि आधिकारिकताका हिसाबले पुस्तकलाई गुरु देख्छन् उनीहरू । केही वादविवाद पर्दा उनीहरू इः किताबमा यस्तो लेखेको छ भनेर प्रमाण तेस्र्याउँछन् । यस अर्थमा बालबालिका लागि लेखिने पुस्तक नेपाली भाषाको व्याकरणिक तथा अन्य हिसाबले शुद्ध हुनु त्यत्तिकै जरुरी छ । एकाध गल्तीहरू यदाकदा हुन्छ्न् नै, तर त्यसो भनेर त्यस्ता गल्तीहरूलाई पर्याप्त ठाउँ भने दिनुहुँदैन । यस हिसाबले समग्रमा यो कृति पनि पूर्णतः मुक्त छैन । यसमा प्रकाशक र लेखक दुवैको ध्यान जानु सर्वथा उपयुक्त हुन्छ । तथापि, ‘पुतली’ बालकथा सङ्ग्रहमा सङ्गृहित उल्लिखित कथाहरू बालबालिकाको पठनका हिसाबले प्रिय छन् । ज्ञानका हिसाबले उपयोगी छन् । र, विषयवस्तु तथा कथानक छनोटका हिसाबले त्यत्तिकै बालमनोहारी पनि छन् । यदाकदा छिटपुट देखिएका बियाँबाहेक बालकथाकार माधव बिडारीको यो बालकथा सङ्ग्रह आफैमा पूर्णतः सफल छ, र त्यत्तिकै सबल पनि ।