नुवाकोटको छहरे-कविलास-घलेभञ्‍ज्याङ सडकखण्ड स्तरोन्‍नति अन्तिम चरणमा



नुवाकोट,असार २१ । पञ्‍चकन्या गाउँपालिका २ को छहरे-राष्ट्रिय माविसम्मको सडकखण्ड स्तरोन्‍नतिको काम लगभग सकिएको छ ।

वाग्मती प्रदेश सरकार र पञ्‍चकन्या गाउँपालिकाको १/१ करोड रुपैयाँ (समपुरक बजेट) बाट उक्त सडकमा ‘बेस’ निर्माण गरिएको हो । गत चैत १० मा भएको निर्माण सम्झौतामा ६ किलोमिटर ३० मिटर तोकिए पनि निर्माण कम्पनीले करिब पौने ७ किलोमिटरमम्म स्तरोन्नतिको काम गरेको इन्जिनियर जगन अधिकारीले जानकारी दिए । ‘६ किमि ३० मिटर सम्झौता भए पनि झन्डै ७ किमिमा सब बेसको काम लगभग सकिएको छ, अहिले मेजरमेन्ट भइरहेको छ’, इन्जिनियर अधिकारीले साझा पथसँग भने । उक्त सडकखण्डको निर्माणको जिम्मा श्रीकृष्ण निर्माण सेवाले लिएको छ । सडक निर्माण सकेर यही असार अन्तिममा हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सडकको स्तरोन्नति भएसँगै काठमाडौं-छहरे हुँदै कविलास, मिश्रगाउँ पुग्ने यात्रुलाई सहज हुने भएको छ । यो सडक पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री प्रकाशशरण महतको गाउँ कविलास आसपास पर्दछ । महत अर्थमन्त्री रहँदै ट्र्याक खोल्ने, ‘ग्रेड’ को काम भए पनि पछि निर्माण सुस्ताएको थियो । महत पटक-पटक अर्थमन्त्री हुँदासमेत काठमाडौं झोर-गुर्जेभन्ज्याङ-छहरे र कविलास हुँदै घलेभन्ज्याङ पुग्ने सडक र जिल्ला अन्य सडक निर्माणमा समेत प्राथमिकता नदिएको भन्दै आलोचना भइरहेको छ ।

छहरे-राष्ट्रिय मावि हुँदै गाउँपालिकाको अस्थायी कार्यालय रहेको घलेभन्ज्याङसम्म करिब १५ किलोमिटर दूरी पर्छ । काठमाडौं सामाखुसीदेखि नुवाकोटको छहरेसम्म भने २९ किलोमिटर रहेको छ । टोखा-झोर-गुर्जेको सडकमासमेत अहिले धमाधम निर्माण भइरहेको छ । गत वर्षहरुको तुलनामा यसपटक सडक केही सुधारिएको स्थानीय बताउँछन् ।

गुर्जे-छहर सडकका ठाउँ ठाउँमा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङको सिफारिसमा सडक बोर्डमार्फत गएको १० करोड, वाग्मती प्रदेश सरकारबाट उपलब्ध २ करोड र केन्द्र सरकारबाट चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट निर्माण भइरहेको छ । आगामी आर्थिक वर्ष बजेटबाट पनि गुर्जे-छहरे सडकलाई केन्द्र सरकारबाट ३ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।

कालिकास्थान-घलेभन्ज्याङ सडक पनि मर्मत

पञ्‍चकन्या गाउँपालिकाको अस्थायी कार्यालय घलेन्ज्याङसम्मै वर्खायाममा यातायातको सुविधा पुर्‍याउन भन्दै अहिले मर्मत कार्य भइरहेको छ । अघिल्लो आर्थिक वर्षमा सब बेस बनाएर क्षति पुगेका र बाँकी भागमा ग्राभेल हाल्ने काम भइरहेको छ । पहिले ग्राभेल गरिएका तर बिग्रिएका वडा २ र ३ का सडक खण्डका ठाउँ ठाउँमा मर्मत भइरहेको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताए । उनका अनुसार कालिकास्थानदेखि पूर्वतर्फ रहेको गाउँपालिकाको अस्थायी कार्यालय रहेको घलेभन्ज्याङ जाने बाटो बजेट स्टिमेटअनुसार काम भइरहेको छ । ३ नम्बरका वडाध्यक्ष रामबाबु पराजुलीले यातायात सञ्‍चालनका लागि गाउँपालिकाबाटै रकमान्तर गरी बिग्रिएको मर्मतको काम भइरहेको बताए ।

दुई नम्बर वडा कार्यालय-मिश्रगाउँ-कालिका उपभोक्तामार्फत

यस्तै दुई नम्बर वडा कार्यालय-कालिकास्थान मन्दिरसम्मको बाटो पनि उपभोक्ता समितिमार्फत निर्माण गरिएको छ । ध्रुव पौडेल, जय तामाङ लगायत सम्मिलित समितिमार्फत गरिएको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त खण्डमा भने बर्खायाम र ल्याब टेस्ट नगरी कमसल सामग्री प्रयोग गरिएकोले ग्राभेल बनाउँदै बनाउँदै भत्किएको थियो । स्थानीयले जाँच गरी नदीको गेगर, बालुवा र ढुंगा मिसिएको सामग्री प्रयोग गर्नु पर्नेमा थुम्कीको माटो प्रधान सामग्री प्रयोग गरिएकोले भत्किएको बताउँछन् । तर निर्माणमा संलग्न व्यक्तिहरुले अहिले स्थानीयको आलोचना र इन्जिनियरिङबाट पास नहुने भएपछि खोलाको गेगर लगेर पुन: मर्मत गरिसकेका छन् ।

सडक मर्मतको क्रममै सडकको दुरावस्था

उक्त बाटो टिकाउ भए गाउँपालिकाको कार्यालय घलेभन्ज्याङसम्म बर्षात्‌को समयमा पनि सहज रुपमा गाडी चल्ने छ । बस नचले पनि त्यस क्षेत्रमा सरकारी, निजी गाडी बर्खायाममा चल्नेछन् ।

सार्वजनिक बस नचलेका कारण स्थानीयले जिपमार्फत यात्रु ओसार्दै आएका छन् । पालिकाकै जोडबलका कारण गत वर्षदेखि बर्खायाममा पनि जोखिमपूर्ण तरिकाले जिप सञ्‍चालन हुँदै आएको छ । स्थानीयलाई सहज सुविधाका लागि सञ्‍चालित जिपले महँगो भाडा असुल्ने र कर छलेर शिवपुरी गाउँपालिकामा स्थापित अस्थायी प्रहरी चेक पोस्टमा ‘हप्ते’ बुझाएर अवैध रुपमा सञ्चालन भइरहेको स्थानीयको आरोप छ ।

स-साना पोकापन्तुरा, झोला र कलिला बालबालिकाको समेत जिपले महँगो भाडा असुलेको भन्दै यसअघि इलाका प्रहरी कार्यालय पञ्‍चकन्यामा उजुरीसमेत परेको थियो । उजुरीपछि फेरि गल्ती नदोहोर्‍याउने सर्तमा चालक र जिप धनीलाई छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्