नुवाकोट पञ्‍चकन्यामा पर्यटन सम्भावना



साझा पथ संवाददाता
घलेभन्ज्याङ । मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटोमध्ये एक हो पर्यटन । विश्वका कैयन विकसित मुलुकहरुले पर्यटन प्रवर्द्धन क्षेत्रको पहिचान, प्रवर्द्धन गरेकै कारण उन्नति गरेको सम्बन्धित क्षेत्रका जानकारी बताउने गर्छन् । पछिल्लो समय सहरी क्षेत्रमा बढेको भीडभाड, प्रदूषण र व्यस्ततापूर्ण दैनिकीबाट मुक्त भएर मानिसहरु देशभित्र तथा बाहिर घुम्ने संस्कार बढ्न थालेको छ । त्यस्ता आन्तरिक वा बाह्य पर्यटकलाई लक्षित गर्दै पर्यटकीय क्षेत्रको पहिचान, प्रवर्द्धन र प्रचारप्रसार गर्नु आवश्यक छ । स्थानीयस्तरबाट पर्यटन क्षेत्रको श्रीवृद्धि गर्न सके प्रत्यक्ष र आर्थिक रुपमा देश र स्थानीयलाई नै फाइदा पुग्नेछ । यस्तै पर्यटकीय सम्भावना भएको तर विकास हुन बाँकीरहेको स्थल हो नुवाकोट पञ्‍चकन्या गाउँपालिका ।

काठमाडौंबाट २२ किलोमिटर उत्तरम अवस्थित पञ्चकन्या गाउँपालिकाको वडा नं ३ र ४ को शिर भूमेथान डाँडा समुद्री सतहबाट करिब २१ सय मिटर र होचो भाग तल्लो बेंसी ८४० मिटर छ । यी वडाहरु सम्पूर्ण भूभाग उत्तरतर्फ फर्किएका छन् । जहाँ हिमशृंखलाहरु गणेश हिमाल, लाङटाङ, लाङटाङ रि, अन्नपूर्ण प्रथम र द्वितीय, दोर्जे लाक्पा प्रथम, द्वितीय, तृतीय, पुमोरी, राहुचुलीलगायत हिमाल जन्तीझैं लहरै उभिएका छन् । विभिन्न जातजातिको मिश्रित बसोबास रहेको वडा नं ३ को घलेभञ्ज्याङ जहाँ अहिले गाउँपालिकाको अस्थायी कार्यालय रहेको छ । यसलाई केन्द्रविन्दु मानी विभिन्न किसिमका पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । जुन लाङटाङ ट्रेकका लागि मुख्य प्रस्थानविन्दु बन्न सक्छ ।

प्रथमत: स्वदेशी र विदेशी पर्यटकहरुलाई लक्षित गर्दै ‘होम स्टे’ कार्यक्रम (कम्तीमा एक घरमा एक कोठा सरसफाइसहित जहाँ ज्वाइँ, सम्धी र पर्यटकलाई राख्न सकिन्छ) कार्यक्रम सञ्चालन गर्ने । जसले सांस्कृतिक, अनुसन्धान र कृषि पर्यटनलाई समेत प्रवर्द्धन गर्ने छ । स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले केही वर्षदेखि होम स्टे सञ्चालनका लागि भनेर बजेट छुट्याउँदै आएको छ । त्यो बजेट कार्यान्वयनमा आउन नसकेको सुनिन आएको छ । त्यसैगरी पञ्‍चकन्याको भूमिमा सहासिक पर्यटनको समेत प्रचुर सम्भावना छ । यहाँ प्याराग्लाइडिङ, हट एअर बेलुन, चंगा उडान प्रतियोगिता, घोडचडी प्रतियोगिता, माउन्टेनबाइक प्रतियोगिता र संसारमै महँगो खेल गल्फ जुन बोकेडाँडा घ्याङस्वाँरा क्षेत्रमा खेलाउन सकिन्छ । त्यसैगरी यसै स्थानमा शिक्षा र स्वास्थ्य पर्यटनले समेत प्रवेश पाउन सक्छ ।

शिक्षा पर्यटन भन्नाले दार्जिलिङ र मसुरीतर्फ पलयान भएको नेपाली पुँजी पूर्वाधारहरुको विकास भए यस क्षेत्रमा मोडिन सक्नेछ । त्यसैगरी लामो समयसम्म स्वच्छ वातावरणमा चिकित्सकको निगरानी रहनुपर्ने गरी स्वास्थ्यलाभ गरिरहेका व्यक्तिहरु जसलाई रैथाने प्रजातिको जैविक खाना र वतावरण चाहिन्छ, जो आर्थिक रुपले सम्पन्न वर्गकव हुनेछ । जसबाट कृषि पर्यटनमा समेत टेवा पुग्ने छ ।

त्यसैगरी तादी र लिखु खोलामा गरिने जलक्रिडा (र्‍याफ्टिङ कायाकिङ) जल पर्यटनले समेत पर्यटन विकासमा थप योगदान गर्नेछ ।


कृषिको आधुनिकीकरण गर्दै, वैकल्पिक उर्जाको प्रयोग गर्दै वातावरण तथा पर्यावरणको संरक्षणमा ध्यान दिनु हाम्रो प्रमुख कार्ययोजना हुनुपर्नेछ । साथै रोजगार र जनशक्ति विकासका लागि प्राविधिक शिक्षामा जोड दिने स्थानीय समाजसेवी, बुद्धिजीवी सेवानिवृत्त शिक्षक, कर्मचारी, सेना, प्रहरीको ठूलो हिस्साले यस क्षेत्रको नेतृत्व गर्न अपरिहार्य छ ।

वडा 3 को ऐतिहासिक सोह्रमाने

नयाँ रोजगारको क्षेत्र पर्यटनलाई ध्यानमा राख्दै होटलतर्फ म्यानेजर, कुक, वेटर (बेरा), ट्रेकिङ ट्राभलतर्फ पोर्टर, गाइड, र्‍याफटर र नेचर गाइड, सिटी गाइडजस्ता सेवामा लागि वैदेशिक रोजगारीको नाममा खाडी क्षेत्रमा मजदुरीका लागि नजान ध्यानाकर्षण गराउन चाहन्छु ।

सदरमुकाम विदुरसँग जोडिएको गंगटे-छहरे सडको थानसिङ-कविलास खण्डबाट घलेभन्ज्याङहुँदै मानेभन्ज्याङ, गोल्फु भन्ज्याङ्समेतको ताम्सालिङ चक्रपथ, घलेभन्ज्याङ सडक, काठमाडौंसँग जोडिएको बुढीसेरा सडक, छहरे शिवलाय सडकसँग जोडिएको कुण्डला घलेभन्ज्याङ, छहरे-कविलास-कालिकास्थान, लाकुरीभन्ज्याङ र घलेभन्ज्याङ सडकको संगमस्थल रहेकोले निकट भविष्यमै पूर्वीमध्य नुवाकोटको व्यापारिक केन्द्रको रुपमा विकास हुने सम्भावनायुक्त स्थल पनि हो घलेभन्ज्याङ ।

पाँचकन्या मन्दिर
समुद्र सतहदेखि करिब १५ सयको उचाइमा रहेको घलेभन्ज्याङबाट करिब २ सय मिटर पूर्वोत्तरमा अवस्थित छ पञ्चकन्या मन्दिर । प्राकृतिक सुन्दररताले भरिपूर्ण लालिगुराँसको चिटिक्क जंगलको आडैमा ठूला ठूला रुखको छहारीमा रहेको पाँचकन्या मन्दिरको नामबाटै साविकको पञ्चकन्या गाविसको नाम राखिएको थियो । पछि मुलुक संघीयतामा प्रवेश गरिसकेपछि भद्रुटार, कविलास, थप्रेक, पञ्चकन्या र चौघडाको केही क्षेत्र समेटेर सीमांकन गर्दा पञ्‍चकन्या गाउँपालिका नाम राखिएको हो ।

पाॅचकन्या मन्दिर परिसरमा रहेको महादेव थान

आस्थाको पाँचकन्या मन्दिर परिसरमा पाँचकन्या थान, सातकन्या थान, थानापति, रणगम्भीर, महादेव र सिकारी भूमे पनि छन् । सो थानको दक्षिणतर्फ ३० मिटरको दूरीमा कपुर भूमेथान छ । पाँचकन्या थान रहेको वरिपरिको जंगल सामुदायिक वनको रुपमा रहेको छ । जहाँ चैत-वैशाखमा ढकमक्क गुराँस फुल्दछ । त्यसबाट आन्तरिक पर्यटक लोभिने गर्छन् । पाँचकन्या मन्दिर आसपास तामाङ जातिको बाहुल बसोबास छ । पछिल्लो समयमा मन्दिर व्यवस्थापन समिति निर्माण भए पनि खासै सक्रिय छैन । जहाँ हरेक वर्ष जोकमा पूजा र मेला (जात्रा) लाग्ने गर्दछ ।
बर्खायाममा गरिने खेतीबाली सप्रियोस्, वस्तुभाउमा रोगव्याधी नलागोस् भन्ने कामनाका साथ जेष्ठ पूर्णिमामा पूजा तथा भाकल चढाइने चलन छ । स्थानीयले भाकल र नियमित रुपमा कुखुरा, बोका, पाठी लगायत पशुपन्छीको बली चढाइन्छ भने अन्यले अण्डा, दूध, फूल, अक्षेता लगायत लगेर चढाउने चलन छ ।

तर मंसिर ठूलो एकादशीपछिको चतुर्थी र पञ्‍चमीमा भने पूजाआजाका साथ भव्य जात्रा लाग्ने गर्दछ । अघिल्लो दिन झाँक्री नाच, गीत भजन, लगायत रातभर रमाइलो गरिने चलन छ भने भोलिपल्ट बिहान सातकन्यामा स्थानीयले वर्षभरि राम्रो होस् भन्ने कामना गरी राखिएका भाकल, नियमित पूजाका रुपमा बलि चढाउँछन् । कतिपयको पञ्‍चबलिसमेत चढाउने चलन छ । तामाङ बस्ती बाक्लो भएकैले पनि यस मन्दिरको मूल पूजारी (भान्से) तामाङ जातिबाटै हुँदै आएका छन् । अहिले स्थानीय लालबहादुर तामाङ झाँक्री मूलपूजारीका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्