खेलकुदमन्त्री विश्वकर्मासहितको टोलीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण



साझा पथ संवाददाता

काठमाडौं २८ असार । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ ।

जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा निर्माण सुरु भएको रङ्गशालाको शनिबार अनुगमन एवं निरीक्षण गर्दै मन्त्री विश्वकर्माले अहिलेको चुनौतीपूर्ण समयमा पनि रङ्गशाला निर्माण शुरु भएको भन्दै खुशी व्यक्त गरे । विकासका लागि बजेट अभाव नहुने चर्चा गर्दै उनले दिगो विकास, प्रभावकारी तथा स्थायित्वसहितको डिजाइनमा रङ्गशाला सुन्दर, स्रोतसाधन परिचालनमा योजनाबद्ध एवं व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

मन्त्री विश्वकर्माले खेलकूद हुनेखाने मानिसका लागि मनोरञ्जनको साधन मात्र नभई प्रत्येक मानिसको स्वास्थ्यसँग जोडिएको बताउँदै रङ्गशाला निर्माणमा नगरपालिकाको सहयोगमा थप सहयोग गर्दै आवश्यक बजेटको व्यवस्थापन गरी निर्माणकार्यलाई पूर्णता दिने बताए । चाँगुनारायण नगरपालिकाले वडा नं ४ र ७ को भँगेरीडाँडामा जग्गा उपलब्ध गराएसँगै रङ्गशाला निर्माण शुरु भएको हो । सङ्घीय सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रङ्गशाला निर्माण गर्ने उल्लेख गरेको थियो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त रङ्गशाला नगरापालिकाले रु ५० लाख बजेट व्यवस्थापन गरी निर्माण शुरु गरेको छ । रङ्गशाला निर्माणका लागि नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारबाट समेत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्