नुवाकोटमा बालुवाको निहुँमा झडप : दुई घाइते, अवैध क्रसर मालिकविरुद्ध उजुरी



नुवाकोट २ साउन । लिखु गाउँपालिका ४ चौघडा नजिक अवैध रुपमा सञ्चालित क्षेत्रपाल क्रसर उद्योगका सञ्चालकले नदीमा बालुवा झिक्न गएका स्थानीयमाथि आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । स्थानीयमाथि आक्रमण गरेको भन्दै कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएका हुन् । अवैध रुपमा बालुवा तस्करी र दोहनको विरोध गर्न पुगेका स्थानीय र क्रसर सञ्चालक पक्षबीच बिहीबार झडप हुँदा स्थानीय २२ वर्षीय सन्तोष राई र २८ वर्षीय अनिश राई घाइते भएका छन् । स्थानीय बासु राईका अनुसार उनीहरुको काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उद्योग सञ्चचालक शैलेश श्रेष्ठले खुँडा प्रहार गरी घाइते बनाएको प्रहरीमा दर्ता उजुरीमा छ । ‘ज्यान मार्न पाइँदैन,’ स्थानीय राईले भने, ‘ज्यान मार्न खोज्नेलाई कडा कारबाही हुन पर्‍यो ।’ उजुरीपछि केही सञ्चालकलाई पक्राउ गरेको बताइएको छ । क्रसरले एकलौटी रुपमा मेसिन प्रयोग गरी बालुवा झिकिरहेको स्थानीयको आरोप छ । स्थानीय पनि क्रसरले बालुवा निकालिरहेको आसपासमा आफूहरुले पनि बालुवा निकाल्न पाउनुपर्छ भन्नेमा विवाद भएपछि झडपको रुप लिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

क्रसर सञ्चालकले भने ज्यान जोगाउन प्रतिकारमा उत्रेको जनाएको छ । प्रहरीका अनुसार झडपका क्रममा स्थानीयले एउटा गाडी, टिपर, एक्स्काभेटर लगायत उपकरण जलाइदिएका छन् । स्थानीयले अवैध क्रसर उद्योगलाई बालुवा झिक्न प्रहरी र स्थानीय प्रशासनले सघाइरहेको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी अविनारायण काफ्लेले कुनै अवैध क्रसर उद्योग चल्न नदिएको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले विभिन्न बहानामा नदी उत्खनन् गर्ने र ज्यान मार्नेलाई कारबाही हुने बताएका छन् । जिल्ला समन्वय समितिले हालै असार, साउन र भदौ मसान्तसम्म कुनै नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि उक्त कार्य रोकिएको छैन । संघीय कानुनअनुसार क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालन गर्नुपर्ने प्रावधान छ । तर उक्त क्रसर उद्योगले लिखु गाउँपालिकाबाट अनुमति लिएर ढुंगा, गिटी र बालुवा निकालिएको बताएको छ ।

यसैबीच कांग्रेस, नेकपा लगायत जिल्लामा सक्रिय पार्टीहरुले उक्त घटनाको विरोध जनाउँदै दोषीलाई कारबाहीको माग गरेका छन् ।

वाग्मती प्रदेश सांसद एवं नेकपा नेता बद्री मैनालीले अवैध क्रसर व्यवसायीले नदिजन्य वस्तुको उत्खनन गर्न लाग्दा स्थानीय सरोकार राख्ने बासिन्दाले रोक्न खोज्दा उल्टै स्थानीय युवाहरुलाई हातहतियार प्रयोग गरी सख्त घाइते बनाएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले यो समाज कानुनी शासन व्यवस्थामा चल्ने र विश्वास राख्ने भएकाले दोषि माथि निष्पक्ष छानबिन गरी कानुमबमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

उनले क्षेत्रपाल क्रसर उद्योगमा मात्रै नभइ समग्र जिल्ला र देशव्यापी यस्ता खालका अवैध र आपराधिक क्रियाकलाप भइरहनुमा, यस्को नियमन नियन्त्रण गर्ने निकायको कहीं न कहीं संलग्नता रहेको समेत आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्