बाटो बनाउन आफै अघि सर्छन् नुवाकोटवासी, यसरी पन्छाइए तादी मुडुलेको पहिरो



साझा पथ संवाददाता

नुवाकोट साउन १० । ताँदी गाउँपालिका २ मा पर्ने मुडुलेको पहिरो स्थानीयले दुई दिन लगाएर हटाएका छन् । बिहीबार र शुक्रबार पहिरो हटाएपछि आवातजावतका लागि सजिलो भएको वडा नम्बर २ का बच्चुराम तामाङले जानकारी दिए ।

साझा पथसँग अध्यक्ष तामाङले भने, ‘केही दिनअघिको पानीपछि ठूलो पहिरो खसेको थियो । स्थानीयलाई आवतजावत गर्न, गाईवस्तु चरनमा लैजान र बिरामी परिहालेमा अप्ठेरो भएपछि बिहीबार र शुक्रबार स्थानीयको जनश्रमदानमा पहिरो हटाइएका हौं ।’ उनले अहिले मान्छे हिँड्नुका साथै मोटरसाइकलसम्म चल्न सक्ने बनेको बताए । वडाध्यक्ष तामाङले उक्त ठाउँमा पहिरोको जोखिम अझै टरी नसकेको बताए ।

केही दिनदेखि अविरल वर्षाका कारण रालुकामैदान हुँदै चिलाउने गाउँ जाने बाटोको मुडुलेमा पहिरो गएको थियो । पहिरोका कारण मानिस हिँड्नलाई समेत नसक्ने अवस्था बनेको थियो ।

वडाअध्यक्ष तामाङले बाटो खुलाउन सहयोग पुर्‍याउन सबैलाई सामाजिक सञ्‍जालमार्फत धन्यवाद दिएका छन् ।

‘केही दिनदेखि अविरल वर्षाका कारण रालुकामैदान हुँदै चिलाउने गाउँ जाने बाटोको मुडुलेमा पहिरो गई मान्छे हिँड्न समेत नसक्ने अवस्थामा रहेको पहिरोलाई म लगायत स्थानीय साथीहरु मिलेर करिब दुई दिन खनेर बाटो खुलाएको छ । बाटो खुलाउन तथा खन्न सहयोग गर्नुहुने सम्पूर्ण स्थानीय साथीहरुमा विशेष धन्यवाद !’ वडाध्यक्ष तामाङको फेसबुकमा लेखेका छन् ।

पहिरो पन्छाउन ३० जनाको हाराहारीमा स्थानीय खटिएका थिए ।

तस्बिरहरु : तादी गापा २ का वडाध्यक्ष बच्चुराम तामाङ

ठेकेदारले काम स्थगित गरेपछि पञ्‍चकन्यामा सडक सफाई
पञ्‍चकन्या गाउँपालिका वडा ५ मा पनि मौसम प्रतिकूलताको कारण देखाउँदै ठेकेदारहरुले सडक विस्तार, निर्माणलाई स्थगित गरेपछि केही खण्ड स्थानीयले नै सफाई गरेका छन् ।

सत्तरी पुलदेखि गाउँपालिका केन्द्र लाकुरीभन्ज्याङ जोड्ने मोटरबाटो निर्माण गर्दागर्दै ठेकेदारहरुले काम छाडेपछि स्थानीय व्यवसायी महेशप्रसाद सिटौलाको अगुवाईमा बच्छलादेखि लाकुरीभन्ज्याङसम्म बिहीबार सामान्य मर्मत गरी यातायात सञ्‍चालनयोग्य बनाइएको हो । सडक निर्माणबारे सिटौलाले साझा पथसँग भने, ‘लाकुरी भञ्ज्याङ मोटोर बाटोको बच्छला स्कुलदेखि लाकुरी भञ्ज्याङसम्म नाली नकाटी र बनाउँने क्रममै आएको पहिरो पनि नहटाइ ठेकेदार हिँडेपछि आफ्नै खर्चमा बाटो बनाएका हौं ।’ सडक निर्माणमा स्थानीयले डोजर प्रयोग गरिएको थियो भने केही स्थानीयले मद्दत पुर्‍याएका थिए ।

उनले आफ्नै खर्चमा सडक मर्मतका लागि ११ घन्टा डोजर सञ्‍चालन गरेका छन् । जसको दर घन्टामा २४ सय रुपैयाँ पर्दछ ।

बर्षातको बेला जथाभावी सडक खनेर भल नाली नकटाइ र सडकमा झरेको पहिरो समेत नहटाइएको भन्दै स्थानीयले थप पहिरोको जोखिम बढेको भन्दै गुनासो गरेका छन् । वडाध्यक्ष मधु थापाले अहिले काम गरिरहँदा पहिरो झर्ने काम नरोकिएपछि भदौ-असोजमा गर्ने गरी स्थगित भएको बताएका छन् । उक्त सडकखण्ड करिब १२/१३ किलोमिटर रहेछ ।

उक्त सडक विस्तार गर्न समपुरक बजेटअन्तर्गत पञ्‍चकन्या गाउँपालिका र वाग्मती प्रदेशबाट गरी २ करोड ४ लाख गत आर्थिक वर्ष २०७६/७७ मा छुट्याइएको थियो । सडक असार मसान्तमै विस्तार सकाएर हस्तान्तरण गर्नुपर्नेमा काम नभ्याएपछि ६ महिना समय थप गरिएको वडा ५ का अध्यक्ष मधु थापालाई उद्धृत गर्दै एक स्थानीय बताए । उक्त सडक विस्तारमा निर्माणमा जगदीश फुयाल, अरुण थापा, उत्तम पाठक लगायत निर्माण व्यवसायीहरु सामेल छन् ।

प्रतिक्रिया दिनुहोस्