पार्टीका पछिल्ला गतिविधि एकताविरोधी भएको नेकपा नेता तामाङको टिप्पणी



भन्छन्, ‘एकताको पक्षमा छन् भन्ने आधारहरु देखाउँदैन । यी ज्यादै दुखद् पक्षहरू हुन्’

साझा पथ संवाददाता
काठमाडौं साउन १० । सत्तारुढ नेकपाका केन्द्रीय नेता एवं संघीय सांसद हितबहादुर तामाङले पछिल्ला दिनमा पार्टीभित्र भइरहेका गतिविधिलाई एकताविरोधीको रुपमा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्‍जाल फेसबुकमा शनिबार आफ्ना विचार सार्वजनिक गर्दै सांसद तामाङले संसद् अधिवेशन अन्त्य, प्रधानमन्त्रीका पक्षमा सडकमा भएका प्रदर्शन पार्टी एकताको विपक्षमा रहेको बताएका हुन् । सरकारले पार्टीलाई समेत जानकारी नदिइ संसद् विघटन गर्नु, केही कार्यकर्तालाई सडकमा नारा लगाउन खटाइएको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

‘एकातिर नागरिकता विधेयक लगायतका थुप्रै विधेयकहरु पारित हुनुपर्ने राष्ट्रिय आवश्यकता महसुस भइरहेको छ अर्कोतिर प्रतिपक्ष दलहरू र आफ्नै पार्टीलाई समेत जानकारी नदिई संसद्को बैठक समापन गर्न सिफारिस भएको छ,’ सांसद तामाङले लेखेका छन्, ‘एकातिर पार्टीले राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद भनिएको छ तर एकथरी नेताकार्यकर्ताहरु जनताको बहुदलीय जनवादको सार्वजनिक वकालत गरिरहेका छन् । यी सबै कुराहरुले पार्टी एकताको पक्षमा छन् भन्ने आधारहरु देखाउँदैन । यी ज्यादै दुखद् पक्षहरू हुन् ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते साँझ ५ बजेदेखि लागू हुने गरी संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी थिइन् । पार्टीभित्र अमेरिकी निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतको विषयमा विवाद झेलिरहेका प्रधानमन्त्री ओलीले एक्कासी संसद् अधिवेशन अन्त्यको निर्णय लिएपछि निकै आलोचना भएको थियो । सरकारले पार्टीभित्र र प्रमुख प्रतिपक्ष कांग्रेससँग त छलफल गरेन नै सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षका सचेतक र प्रतिपक्ष दलका नेताहरुसँग परामर्श गरेर बैठक अन्त्यको सिफारिस गर्ने परम्परा यसपटक तोडिएको थियो ।

कहिले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर आलोचना खेपेका प्रधानमन्त्री संसद् अधिवेशन अन्त्य गर्नमा परामर्शमा चुके नै फेरि अयोध्याबारे बोलेर झनै चौतर्फी तारो बने । केपी ओली नेतृत्वको सरकारले जनतालाई अनुभूत हुने काम गर्न नसकिरहेको बेला छिमेकीसँग सम्बन्ध बिगार्ने अन्टसन्ट बोल्ने र पार्टीभित्र विधि, विधान कुल्चँदै अघि बढेको भन्दै नेकपा अध्यक्ष, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा मागे पनि ओलीले तत्काल पद नछाड्ने अडान लिइरहेका छन् । बरु पछिल्लो सचिवालय बैठकमा उनले आफू महाधिवेशन फेस गर्ने भन्दै मंसिरमा महाधिवेशन गर्ने तुरुप फ्याँकेका छन् । उक्त प्रस्तावमा समेत अरु नेताहरु अहिलेसम्म सहमत भएका छैनन् ।

केही साताअघि निकै चर्किएको नेकपाभित्रको विवाद बीचमा साम्य जस्तो देखिएको थियो । तर शुक्रबार राजधानीमा नेकपा संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । जसका कारण पछिल्लो समय पटक पटक तोक्दै, स्थगित गर्दै आएको स्थायी कमिटी बैठक फेरि प्रभावित हुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्