कोरोनाबाट वीरगञ्जमा थप एकको मृत्यु
काठमाडौं, साउन १७ । वीरगञ्जमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।
नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै मृत्यु भएको थियो ।
उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।
सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको नारायणी अस्पतालका डा निरज सिंहले जानकारी दिए ।उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।