कोरोना महामारी फैलिएको वीरगन्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइयो, जनकपुरधाममा निषेधाज्ञा जारी



वीरगन्ज साउन १८

कोरोना महामारी फैलिएको पर्साको वीरगन्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

पछिल्लो समयमा वीरगन्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।

उता जनकपुरधाममा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको भट्टराईले जानकारी दिए । प्रदेश २ को वीरगन्ज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्