नुवाकोटमा सार्वजनिक सेवा प्रवाहका लागि कार्यालयलाई तोकियो मापदण्ड [के के छन् त ?]



नुवाकोट साउन २२ । कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि नुवाकोटका सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरुमा नयाँ मापदण्ड लागू गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र नुवाकोट बुधबारको बैठकपछि बसेको कार्यालय प्रमुखहरुको बैठकबाट सार्वजनिक सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका सामान्य मापदण्डहरूको पूर्ण पालना सम्बन्धी निर्णय भएको हो ।

सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रियाअन्तर्गत सरकारी तथा सार्वजनिक निकायले प्रवाह गर्ने सेवाको प्रकार सो सँग सम्बन्धित सम्पर्क अधिकृतको सम्पर्क विवरण सार्वजनिक गर्ने, सेवाग्राहीले सम्पर्क अधिकृतसँग सम्पर्क गरी आफूले लिन चाहेको सेवा, प्रक्रियाका बारेमा लिन सक्ने व्यवस्था मिलाउने,सेवाग्राहीले दिनुपर्ने आवेदन र सोसँग सम्बन्धित कागजातहरु विद्युतीय माध्यामबाट नै कार्यालयमा पठाई प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने लगायत बुँदा छन् ।

त्यस्तै कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका सामान्य मापदण्डमा बिरामी, नाबालक, जेष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी महिला लगायतका कोभिड-१९ संक्रमणको उच्च जोखिम समूहका नागरिकहरुलाई भिडभाड हुने सेवा प्रवाह स्थलमा प्रवेश नगराई संभव भएसम्म वैकल्पिक माध्यामबाट सेवा प्रवाह गर्ने, स्वास्थ्य सुरक्षाका आधारभूत व्यवस्थाहरु: कार्यालयको मुख्य प्रवेशद्वारमा नै ज्वरो नाप्ने उपकरण (Thermal Gun), सेनीटाइजर, हातधुने व्यवस्था र सेवाग्राहीबाट मास्कको अनिवार्य प्रयोगको प्रभावकारी कार्यान्वयन र कार्यालयभित्र अत्यावश्यक बाहेक सेवाग्राहीको पहुँच सीमित गर्ने प्रणाली र संरचनागत व्यवस्था मिलाउने ।

संक्रमित बढ्न थालेपछि जिल्लाको विदुर नगरपालिकाको वडा नं ८ र ९ को निश्चित क्षेत्र र ककनी गाउँपालिका वडा नं. २ र ५ को निश्चित क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा लकडाउन गरिएको होइन । विदुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना नभएको पाइएकोले सार्वजनिक यातायात र मानिसहरु जमघट बढी हुने चिया पसल होटल आदि सञ्‍चालनमा रोक लगाइएको हो ।

बैठकको निर्णयको पूर्ण विवरण
कोभिड-१९ को संक्रमणको जोखिम यस जिल्लामा बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सोको न्यूनीकरणको लागि जिल्ला संकट व्यवस्थापन केन्द्र नुवाकोटको मिति २०७७ श्रावण २१ गते बसेको बैठकले जिल्लाका सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरुले आ-आफ्नो निकायबाट प्रदान गरिने अति आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापनको प्रक्रिया, समय र मापदण्ड सम्बन्धमा सेवाग्राही जनसमुदायलाई सूचित गर्ने निर्णय गरे अनुरुप हिजो नै बसेको कार्यालय प्रमुखहरुको बैठकबाट सार्वजनिक सेवा प्रवाह गर्दा देहाय बमोजिमको सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका सामान्य मापदण्डहरूको पूर्ण पालना गरी देहाय बमोजिम सेवा प्रवाह गर्ने निर्णय भएको व्यहोरा सम्बद्ध सबैमा जानकारी गराइन्छ ।
१. सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया
 सरकारी तथा सार्वजनिक निकायले प्रवाह गर्ने सेवाको प्रकार सो संग सम्बन्धित सम्पर्क अधिकृतको सम्पर्क विवरण सार्वजनिक गर्ने
 सेवाग्राहीले सम्पर्क अधिकृतसंग सम्पर्क गरी आफूले लिन चाहेको सेवा, प्रक्रियाका बारेमा लिन सक्ने व्यवस्था मिलाउने,
 सेवाग्राहीले दिनुपर्ने आवेदन र सोसंग सम्बन्धित कागजातहरु विद्युतीय माध्यामबाट नै कार्यालयमा पठाई प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने ।
 सम्पर्क अधिकृतले तोकिए अनुसारको कोटा बमोजिम सेवा प्रवाहका लागि टेलिफोनबाटै टोकन दिने । टोकन दिंदा कार्यालयमा सेवाग्राही कार्यालयमा उपस्थित हुनुपर्ने समय समेत जानकारी गराउने । प्रवाह गरिने सेवाको क्षेत्र र कोटा सम्बन्धित कार्यालयले जिल्लाको संक्रमणको अवस्था, उपलब्ध जनशक्ति समेतका आधारमा निर्धारण गर्ने ।

२. कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका सामान्य मापदण्डः
 विरामी, नाबालक, जेष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी महिला लगायतका कोभिड-१९ संक्रमणको उच्च जोखिम समूहका नागरिकहरुलाई भीडभाड हुने सेवा प्रवाह स्थलमा प्रवेश नगराई संभव भएसम्म वैकल्पिक माध्यामबाट सेवा प्रवाह गर्ने ।
 स्वास्थ्य सुरक्षाका आधारभूत व्यवस्थाहरु: कार्यालयको मुख्य प्रवेशद्वारमा नै ज्वरो नाप्ने उपकरण (Thermal Gun), सेनीटाईजर, हातधुने व्यवस्था र सेवाग्राहीबाट मास्कको अनिवार्य प्रयोगको प्रभावकारी कार्यान्वयन ।
 कार्यालयभित्र अत्यावश्यक बाहेक सेवाग्राहीको पहुँच सीमित गर्ने प्रणाली र संरचनागत व्यवस्था मिलाउने ।
 अति आवश्यक विषयमा मात्र बैठकहरु छोटो समयमा सम्पन्न गर्ने र सहभागीहरुबीच न्यूनतम ३ फिट दूरी कायम हुने व्यवस्था मिलाउने ।
 अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय तहका ब्रिफिङ्गहरु, लिखित निर्णयहरु आवश्यक नपर्ने प्रकृतिका सानो संख्यामा हुने बैठकहरु,
 कार्यालयभित्र कर्मचारीहरु तथा सेवाग्राहीहरुको बीचमा सामाजिक दुरीको मान्यतालाई कडाईका साथ कार्यान्वयन गर्ने ।
 नयाँ भौतिक संरचनाहरुको निर्माणको क्रममा सेवाग्राहीहरुका प्रतिक्षालय तथा कर्मचारीहरुसँग सम्पर्कमा आउने स्थानहरुको विकास गर्दा सामाजिक दूरी कायम गर्ने दृष्टिकोणले विकास गर्ने ।
 सेवाग्राहीहरुसँग निरन्तर सम्पर्कमा रहने कर्मचारीहरुमध्येबाट हरेक महिना न्यूनतम १ नमूना परीक्षण गरी संक्रमणको सम्भावनालाई निरन्तर अनुगमन गर्ने ।
 अत्यन्त भीडभाड र सेवा प्रवाहमा खटिने निजामती कर्मचारी र सवारी व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीहरुको लागि PPE जस्तै तुलनात्मक रुपमा विद्यमान युनिफर्म भन्दा सुरक्षित प्रकारको Outer को विकास गर्ने ।

पुनश्वचः नुवकोट जिल्लाको विदुर नगरपालिकाको वडा नं ८ र ९ को निश्चित क्षेत्र र ककनी गाउँपालिका वडा नं. २ र ५ को निश्चित क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा लकडाउन गरिएको होइन । विदुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना नभएको पाइएकोले सार्वजनिक यातायात र मानिसहरु जमघट बढी हुने चिया पसल होटल आदि सञ्‍चालनमा रोक लगाइएको हो ।

कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी गराई सरकारी निजी र गैरसरकारी क्षेत्रबाट प्रदान गरिने अति आवश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको हो । तत्काल सेवा नभइ नहुने अवस्था भएमा सेवाग्राही जनसमुदायहरुले सम्बन्धित कार्यालयमा टेलिफोनबाट सम्पर्क गरी सेवा लिने प्रक्रिया बुझी सेवा लिनुहुन अनुरोध छ । भीडभाड नहोस् र भीडभाडका कारण कोरोना संक्रमण फैलिन जोखिम न्यूनिकरण गर्न सकियोस् र अति आवश्यक नभइ नहुने सेवा प्राप्त हुन सकोस् भनेर नै यो व्यवस्था गरिएको हो ।अति आवश्यक काम नपरी घरबाट बाहिर आवातजावत नगरौं । सरकारले जारी गरेको स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरौं । यो मापदण्ड पालना हाम्रो लागि हो, हाम्रो स्वास्थ्य र हाम्रै सुरक्षाका लागि हो ।

प्रतिक्रिया दिनुहोस्