समाधानतर्फ नेकपा विवाद



काठमाडौं,साउन ३१ । नेताहरूको हठ, ढिपी र आरोप–प्रत्यारोपका कारण उत्कर्षमा पुगेको नेकपाभित्रको विवाद समाधानतर्फ अघि बढेको छ । दोस्रो पुस्ताका नेताहरूको नौ दिनदेखिको आन्तरिक गृहकार्यको निष्कर्षलाई समर्थन गर्दै अध्यक्षद्वयले कार्यदल बनाउने निर्णय गरेपछि विवाद समाधानको बिन्दुतिर मोडिएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार दिउँसो बालुवाटारमा भएको बैठकले समस्याको पहिचान र समाधानको उपायसहित प्रतिवेदन तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा ओली समूहबाट महासचिव पौडेल र शंकर पोखरेल, दाहाल समूहबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल र सुरेन्द्र पाण्डे छन् ।

कार्यदलले जतिसक्दो छिटो प्रतिवेदन तयार पारेर अध्यक्षद्वयलाई बुझाउने महासचिव पौडेलले जानकारी दिए । ‘पार्टीभित्र देखिएका समस्या समाधान गर्ने र एकतालाई बलियो बनाउने कार्यदलको काम हो,’ पौडेलले कान्तिपुरसँग भने, ‘जतिसक्दो छिटो प्रतिवेदन तयार पारेर अध्यक्षद्वयलाई बुझाउँछौं, त्यसपछि पार्टीका औपचारिक बैठकहरूमा उहाँहरूले प्रस्ताव राख्नुहुनेछ ।’

अध्यक्षद्वयबीच बिहीबार छलफल हुँदा सहभागी भएका महासचिव पौडेल, स्थायी कमिटी सदस्यहरू पोखरेल र शर्माले सहमतिका लागि कार्यदल बनाउने प्रस्ताव गरेका थिए । त्यसअघि दाहाल–नेपाल समूहका नेताहरूबीच बारम्बार भएको छलफलमा पनि शीर्ष नेताहरूले छलफल गरिरहने तर निचोड ननिकाल्ने गर्नुभन्दा बरु दोस्रो पुस्ताका नेताहरू सम्मिलित कार्यदल बनाएर प्रस्ताव तयार पार्नुपर्ने बताएका थिए ।

‘ओलीजी र दाहालजीबीच छलफल हुँदा एक त निकासै ननिस्किने भयो, दोस्रो केही सहमति नै भयो भने पनि कतै अर्को गोप्य सहमति त भएको छैन भनेर शंकाको वातावरण बन्ने भयो,’ दाहाल–नेपाल समूहका एक सचिवालय सदस्यले भने, ‘त्यसो हुनुभन्दा बरु पहिलेदेखिकै अभ्यास पनि हो, दोस्रो तहका नेताहरूलाई जिम्मा लगाऔं भन्ने कुरा भएको थियो ।’

अध्यक्षद्वयबीच बिहीबारको बैठकमा कार्यदल गठनबारे सामान्य छलफल भए तापनि ठोस निचोड निस्किएको थिएन । शुक्रबार दुवै अध्यक्षले गम्भीर छलफल गरेपछि कार्यदल बनाउने निष्कर्ष निकालेको महासचिव पौडेलले बताए । बैठकमा सहभागी हुन जानुअघि अध्यक्ष दाहालले नेपाललाई फोन गरेर कार्यदलमा बस्ने सदस्यहरूको नाम माग गरेका थिए । नेपालले ९ सदस्यीय कार्यदल बनाउन उपयुक्त हुने भन्दै आफ्नो समूहबाट रावल, पाण्डे र रघुजी पन्तको नाम दिएका थिए । दाहालले भने त्यतिखेरै ९ सदस्यीय कार्यदल ठूलो हुने हो कि भन्ने प्रतिक्रिया दिएको दाहालनिकट स्रोतको भनाइ छ ।

कार्यदलका सदस्यसमेत रहेका नेता जनार्दन शर्माले नेताहरूको अहिलेसम्मको अन्तरविरोध हल गर्न कार्यदल सक्षम बन्ने विश्वास व्यक्त गरे । ‘विभिन्न आन्तरिक बैठक र अध्यक्षद्वयका बीचमा भएको छलफलपछि कार्यदल बनाऔं, कार्यदलले प्रस्ताव तयार पार्छ, त्यही प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गरी टुंगो लगाऔं भन्नेमा हामी पुगेका छौं,’ शर्माले कान्तिपुरसँग भने, ‘नेताहरूको अन्तरविरोधलाई हल गर्ने, पार्टीलाई विधि–पद्धतिमा चलाउने, सरकार सञ्चालन, पार्टीको पद्धति, महाधिवेशनको तयारीलगायत एजेन्डामा कार्यदलले प्रस्ताव तयार गर्छ होला ।’

उनले महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डाका रूपमा ल्याउन सकिने बताएका छन् । ‘अहिले छलफल नै नभई यसै भन्न सकिने अवस्था त रहेन,’ उनले भने, ‘तर अब महाधिवेशनको तयारी नै मूल एजेन्डा भएर आउँछ होला ।’ वरिष्ठ नेता नेपालपक्षीय नेताहरूले भने यही अवस्थामा महाधिवेशन नहुन नसक्ने निचोड निकालेका छन् । त्यसका लागि कार्यदलले तयार पार्ने सहमतिका अरू प्रस्तावहरूले पनि भूमिका खेल्ने निश्चितप्रायः छ ।

यसअघि गत असार १६ गते पार्टी सचिवालयका ५ सहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताएपछि नेकपामा थप भाँडभैलो भएको थियो । त्यसपछि स्थायी कमिटी बैठक रोकेर नेताहरूले एक्लाएक्लै, द्विपक्षीय र बहुपक्षीय छलफलहरूलाई विभिन्न चरणमा जारीमा राखे ।

असार २१ गते अध्यक्षद्वयका बीचमा पौडेल, शर्मा, पोखरेल र वर्षमान पुन सम्मिलित कार्यदल बनाउने र त्यसले सहमतिको खाका तयार पार्ने सहमति भएको थियो । तर कार्यदल बनेको खबर सार्वजनिक भई नसक्दै वरिष्ठ नेता नेपाल समूहले आपत्ति जनाएपछि दाहालले आफ्नो सचिवालयमार्फत कुनै पनि कार्यदल नबनेको र शीर्ष नेताहरू नै बसेर समस्याको समाधान खोज्ने स्पष्टीकरण दिएका थिए ।

यो समाचार कान्तिपुर दैनिकमा विनु सुवेदीले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्