आज हरितालिका तीज,घरमै शिवको ध्यान गर्न आग्रह



काठमाडौं,भदौ ५ । हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।

पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुदै आएको छ । धेरै कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रियालापमै असर परेको छ ।

धर्मशास्त्रविद् एवं नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सरकारको आदेश पालना गर्दै तीज मनाउने दिदीबहिनीले घरमै बसेर तीज मनाउन आग्रह गरे । उनी व्रतका दिन विभिन्न शिवालय जानुको सट्टा घरमै शिव थापेर विधिपूर्वक पूजा गर्न सुझाव दिन्छन् । ‘मनमा चङ्गा त हातमा गङ्गा भनेझै घरमै विश्वास गरेर ऊँ नमः शिवाय जप गरी व्रत वस्न सकिन्छ’ , उनले भने, ‘यस्तो बेला भिड जम्मा गरेर हासी खुसी गर्दै नाच गान रमाइलो गर्नु उचित हुन्न, संक्रमणको खतरा हुन सक्छ ।’

धर्मशास्त्रले मनले मात्रै पनि भगवानको स्तुती गरे पुग्ने भनिएको उनी बताउँछन् । यस्तो विषम परिस्थितीमा ज्यानै जोखिम राखेर व्रत बस्ने, मन्दिर जाने, मान्छे जम्मा गरेर रमाइलो गर्न हुँदैन, उनले भने, ‘भगवानलाई मनले संझे पुग्छ , तामझाम गरेर मात्रै हुदैन ।

पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ । शिव पुराणमा उल्लेख भएअनुसार पार्वतीको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीहरुले लुकाएर जंगलमा लगेको र पछि त्यहीबाट ब्रतको सुरुवात भएको संंस्कृतिविद् डा विणा पौडेल बताउँछिन् ।

हरितालिका तीजको प्रसङ्ग मात्र नभई यसको नामाकरण पनि पार्वतीले बसेको कठोर ब्रतसँग जोडिएको छ । हरितालिका, हरिता र अलिका मिलेर बनेको हो । जसमा हरिताको अर्थ हरण र अलिताको अर्थ साथीहरु भन्ने संस्कृतमा बुझिन्छ । यसरी भगवान विष्णुसँग पार्वतीले विवाह गर्न नमानेपछि साथीहरुले जंगलमा लुकाएर लगेकाले यसलाई हरितालिका भनिएको कथन छ ।

तीजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि ब्रत बस्ने गरेका छन् ।

शिवालयहरु सुनसान

हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथलगायत विभिन्न शिवालय सुनसान हुने भएका छन् । अघिलला वर्षहरुमा भक्तजनहरुको घुइचो लाग्ने मन्दिर कोरोना भाइरसको महामारीका कारण बनद गरिएका छन् । नित्य पुजा बाहेक अन्य पुजा आजा त्यहाँ भएका छैनन् ।

दियो कलश गणेश थापी माझमा थालीमा शिव पार्वति सम्झेर साँझ हरितालिकाको पुजा लगाउने चलन छ । तीजको ब्रत भने भोलिपल्ट गौदान र पुर्णपात्रो गरेपछि मात्र पुर्ण हुने विश्वास गरिन्छ ।

हरितालिकाको पर्सिपल्ट पंचमीका दिन अरुणधती सहित सप्तऋषिको पुजा गरेपछि तिज सकिन्छ । पंचमीका दिन महिनावारीबाट हुने छुवाछुतबाट हुने दोषबाट मुक्त हुन यसदिन व्रत सहित सप्तऋषिको पुजा गर्ने गरिन्छ । यसदिन विहानै महिलाहरुले ३ सय ६५ वटा दतिवन पनि लगाउने गर्छन् ।

दर खाइयो

विभिन्न मिठामिठा परिकारको साथमा बुधबार दर खाइएको छ । आफ्ना दुख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तिजको अवसर पारी नेपाली महिलाहरुले दर खाएका हुन् । भाद्र शुक्ल द्धितीयाका दिन दर खाने चलन छ । दर खाने दिनबाट हरितालिका तिज सुरु भएको मानिन्छ ।

कोरोनाको महामारी र निषेधाज्ञाका कारण टाढाटाढा रहेका चेलबेटीहरु माइतीघरमा भेला हुन नसकेर आ–आफ्नै घरमा रहेर खीर, गुँद , हलुवा ,ढकनी, घ्यु दही दुध मिठाइ, फलफूल लगायतका मिठा परीकारको दर खाएका छन् ।

भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरिरलाई ताकत दिने खालका खाद्यान्नको दर खाने चलन रहेको बुढापाकाको भनाइ छ ।

चथा शनिबार

चतुर्थीका दिन चथा पर्वका रुपमा नेवार समुदायले पनि मनाउने गर्छन् । उखु, अदुवा, चथाजस्ता बनस्पति लगायतका बस्तु चन्द्रमालाई चढाएर चथा पर्व मनाइने चलन छ । कति नेवार समुदायलेृ शनिबार साँझ चथा पर्व मनाउँदै छन् । यो पर्वदेखि नै नेवार समुदायमा दशैं सुरु भएको मानिन्छ ।

यो समाचार नवीन लुइँटेलले राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्