लक्षण भएका कोरोना संक्रमितलाई मात्र अस्पतालहरुमा राखिने



काठमाडौ भदौ ५ ।

अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ ।

पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय छ ।

लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन् ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले बताए ।

मन्त्रालयले हालै कोभिडका बिरामीका लागि २० प्रतिशत बेड छुट्टयाउन निजी तथा सामुदायिक अस्पताललाई भनेको थियो भने मेडिकल कलेलहरुलाई एक तिहाई बेड बराबर आइसोलेसन सेन्टर बनाउन भनेको थियो ।

तर निजी अस्पताल र जनस्वास्थ्य विज्ञहरुले भने कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा संक्रमण फैलिन सक्ने र स्वास्थ्यकर्मीको व्यवस्थापन पनि कठिन हुने बताएका थिए ।

मन्त्रिपरिषद्को बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ ।

साथै पीसीआर परीक्षणलाई बढाउने र कट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने निर्णय भएको सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्