किन बन्यो काठमाडौं ‘कोरोना हट स्पट’



काठमाडौं, भदौ १२ । करिब पाँच महिनासम्म नेपालमा सुस्त रहेको कोरोना संक्रमण अहिले व्यापकरुपमा फैलिएर आम मानिसलाई त्रस्त बनाएको छ । हाल कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढ्नुका साथै मृत्युदर पनि बढिरहेको छ । विशेष गरी शहरी क्षेत्रका समुदाय तहमा कोरोना व्यापकरुपमा फैलिएकोले आइसोलेसन सेन्टर र अस्पतालहरुले धान्न नसक्ने स्थिति उत्पन्न भई लक्षण नभएका बिरामीलाई घरै बस भन्न थालिएको छ । उपचारको जिम्मा लिँदै आएको सरकारले पीसीआर परीक्षण आफैँ गर भन्न थालेको छ ।

वरिष्ठ दन्तचिकित्सक डा। सुशील कोइराला ‘संक्रमितलाई घरै बसाउँदा घना बस्ती रहेका शहरी क्षेत्रमा रोग नियन्त्रणमा झन् कठिनाइ हुने’ बताउनुहुन्छ । ‘संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृहहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’का रुपमा स्थापित हुन लागेको’ डा। कोइरालाको विश्लेषण छ । प्रस्तुत छ, डा। कोइरालाका अति उपयोगी भनाइहरु समेटेर तयार गरिएको जानकारीमूलक लेखः

काठमाडौं किन बढी जोखिममाः

लकडाउन खुलेपछि अब कोरोना सिद्धियो जसरी सरकारले म्यासेज दियो, भोलिपल्टैदेखि मास्क लगाउने र भौतिक दूरी कायम गर्नेहरु घटे । मल, रेस्टुराँहरु भीडंभीड भए । लकडाउन बिस्तारै खोल्नुपथ्र्यो तर सरकारलाई कर उठाउनु थियो, सन्देश राम्ररी दिनेतिर ध्यानै पुगेन ।

अर्को जिम्मेवार पदका नेता, पदाधिकारी, विज्ञ, चिकित्सकहरु मास्क नलगाई श्रव्यदृश्यमा देखा पर्न थाले । टेलिभिजनका समाचार, अन्तर्वार्ता र अन्तरक्रियामा सहभागीहरुले पनि सुरक्षा आचरण पालन गरेनन् । झ्याल–ढोका बन्द गरी एसी चलाएर ट्वाइलेटजत्रा कोठामा मास्क नलगाई चिच्याई–चिच्याई अन्तरक्रिया गर्ने, यस्तै कोठामा मन्त्रालय, विभाग र कर्पोरेट तहका मिटिङ गर्नेहरु अहिलेको सन्दर्भमा पढेलेखेका मूर्खहरु हुन्, जो आफूहरु ‘कोभिड फ्री हो, यो गरिबलाई मात्र लाग्छ’ भन्ने भावना राख्छन् । यसबाट आफूहरु पनि असुरक्षित भए र पब्लिकमा पनि गलत सन्देश गयो ।

नयाँ अध्ययनले झ्याल –ढोका थुनी एसी चलाएर बस्नु असुरक्षित मानेको छ । पहिला कोरोना थुकको छिटाबाट सर्छ भनिन्थ्यो, अब छिटाभन्दा पनि साना कण एरोसोल बाट पनि सर्छ भन्ने नयाँ कुरा आएको छ । यो मुखबाट निस्किएको बाफ हो, भेन्टिलेसन नभएको कोठामा केही बेर संक्रमित मानिस बस्यो भने कीटाणुले कोठा भरिन्छ र अरुलाई सर्छ । त्यसैले अहिले एसी चलाउने होइन, झ्याल–ढोका खोली पंखा चलाएर बस्नु उपयुक्त हुन्छ ।

यस्तै गरी साना तथा बन्द कोठामा थोरै समयमा धेरै बिरामी जाँच्ने गरेका कारण धेरै बिरामी र चिकित्सकलाई कोरोना सरेको पाइएको छ । त्यसैले संसारका कतिपय अस्पतालहरुले साना झ्याल भएका बन्द कोठामा बिरामी जाँच्ने संरचनामा परिवर्तन गरिरहेका छन् र थोरै बिरामी जाँच्न र हरेक बिरामी गएपछि बिरामी जाँच्ने ठाउँ सफा गर्न सल्लाह दिएका छन् । अफिसहरुमा पनि पूरा झ्याल–ढोका बन्द गरेर एअर कन्डिसन चलाएर बस्नु जोखिमपूर्ण भएकाले यसमा परिवर्तन गर्नुपर्छ र एक–अर्को बीच ६ फिट दूरी नपुग्ने कोठामा कुनै मिटिङ गर्नुहुँदैन । मास्क लगाए पनि भ्mयाल–ढोका बन्द हुने कोठामा धेरै बेर बस्दा खतरा हुने भएकाले नै जिमखाना, पार्लर, मललगायत मानिसहरु भीडभाड हुने ठाउँमा नजानु भनेको ।

यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्